News Portal

“आफ्नो माटो अनुसारको खेती गरेरै नेपाल आत्मनिर्भर बन्छ”:- प्रचण्ड

सुनौलोपोष्ट संवाददाता


भक्तपुर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई कृषिमा आत्मनिर्भर बनाउन प्रत्येक स्थानीय तहले आफ्नो माटो र वातावरण सुहाउँदो कृषि प्रणाली रोज्नुपर्नेमा जोड दिएका छन्।

भक्तपुरको चाँगुनारायणमा आयोजित सिटी एभोकाडो अभियान समापन तथा अभियन्ता सम्मान कार्यक्रममा सम्बोधन गर्दै प्रचण्डले चाँगुनारायणमा सञ्चालन भएको अभियानलाई मौलिक र प्रेरणादायी नमूना भन्दै ७५३ वटै स्थानीय तहले यसबाट सिक्नुपर्ने बताए।

“चाँगुनारायणले सुरु गरेको एभोकाडो सिटी अभियानले देखाएको सफलताबाट सबै स्थानीय तहले पाठ लिनुपर्छ। प्रत्येक तहले आफ्नो माटोअनुसारको फलफूल र कृषि उत्पादनमा ध्यान दिए नेपाल छिट्टै आत्मनिर्भर बन्न सक्छ,” उनले भने।

प्रचण्डले मौलिक राष्ट्रिय अर्थतन्त्र विकास नगरी देश समृद्ध नहुने उल्लेख गर्दै युवाहरूलाई स्वदेशमै केही गर्न प्रेरित गर्नुपर्नेमा जोड दिए। उनले भने, “देशमै केही गरौँ, देशमै आत्मनिर्भर बनौँ भन्ने सोचसहित युवाहरू समूहगत रुपमा काम गर्न थालेका छन्, यो सकारात्मक संकेत हो। विदेशी नक्कल गर्ने प्रवृत्ति त्यागेर आफ्नै देशमा रोजगारी सिर्जना गर्नेतिर लाग्नुपर्छ।”

उनले कृषि, पर्यटन, ऊर्जा र प्राकृतिक स्रोतसाधनजस्ता क्षेत्रमा अपार सम्भावना रहेको उल्लेख गर्दै, उत्पादनशीलता वृद्धि र स्वदेशमै रोजगारी सिर्जना गर्न सके मात्र नयाँ नेपाल निर्माण सम्भव हुने धारणा व्यक्त गरे।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापा, चाँगुनारायण नगरपालिकाका पूर्व प्रमुख सोम मिश्र, अभियानका अभियन्ता तथा माओवादी केन्द्रका नेता डिपी ढकाल, संयोजक नरेश खड्का लगायतले एभोकाडो अभियानले ल्याएको सकारात्मक प्रभावबारे आ–आफ्नो भनाइ राखेका थिए।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो