
काठमाडौं । सभामुख देवराज घिमिरेले बिहीबार काठमाडौंको भृकुटीमण्डपमा जारी नाडा अटो शो–२०२५ को अवलोकन गरेका छन् । मुलुकमा सवारी साधन र प्रविधि क्षेत्रमा हुने नयाँनयाँ नवप्रवर्तनबारे प्रत्यक्ष जानकारी लिन सभामुखले विभिन्न स्टल अवलोकन गरेका थिए ।
कार्यक्रममा सभामुख घिमिरेले प्रदर्शनीको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको ‘उड्ने ट्याक्सी’ (एयर ट्याक्सी) पनि नजिकैबाट अवलोकन गरे । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भइरहेको सो प्रदर्शनीमा पहिलोपटक नेपालमा भविष्यको सार्वजनिक यातायातका रूपमा परिचित हुने सम्भावना बोकेको यो प्रविधि प्रदर्शनमा राखिएको हो ।
अवलोकनका क्रममा सभामुख घिमिरेले भने, “नेपाल जस्तो भौगोलिक विविधता भएको देशमा यस्ता प्राविधिक नवप्रवर्तनले यातायात क्षेत्रमा ठूलो क्रान्ति ल्याउन सक्छ । यो सम्भावनालाई सरकारले नीतिगत र प्राविधिक रूपमा समर्थन गर्नुपर्छ ।”
उनले यस्ता प्रविधिले काठमाडौं उपत्यकासहित दुर्गम भेगमा आवतजावत सहज बनाउन सक्ने उल्लेख गर्दै नेपालले नयाँ पुस्ताका लागि रोजगारी, उद्यमशीलता र लगानीमैत्री वातावरण बनाउन यस्ता परियोजनालाई प्रोत्साहन दिनुपर्ने धारणा राखे ।
नाडा अटो शोमा यसपटक इलेक्ट्रिक सवारी साधनदेखि नयाँ मोडलका कार, मोटरसाइकल, चार्जिङ प्रविधि र उर्जा दक्ष उपकरणसमेत प्रदर्शनीमा राखिएका छन् । विशेष गरी उड्ने ट्याक्सी, इलेक्ट्रिक एसयूभी र स्मार्ट चार्जिङ स्टेशनहरू प्रदर्शनीका प्रमुख आकर्षण बनेका छन् ।
नाडा अटो शो भदौ ८ गतेसम्म भृकुटीमण्डपमा निरन्तर सञ्चालन हुनेछ । आयोजकका अनुसार यस वर्ष ७० भन्दा बढी ब्रान्ड र सयौं मोडलका सवारी साधन प्रदर्शनीमा राखिएका छन् ।