
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। तियानजिनमा भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनलाई आधिकारिक निम्तो प्रदान गरेका हुन्।
परराष्ट्रसचिव अमृतबहादुर राईका अनुसार भेटमा रुसी सेनामा नेपालीहरूको सहभागिता सम्बन्धी विषयमा समेत छलफल भएको थियो। उनले कूटनीतिक माध्यमबाट संवेदनशील विषयहरू समाधान गरिने स्पष्ट पारे।
त्यसैगरी नेपाल–रुसबीचको आपसी सम्बन्धका विभिन्न आयामबारे विस्तृत छलफल भएको र नेपाल–रुसबीच सिधा हवाई उडान सञ्चालन गर्ने सम्भावनाबारे समेत विचार–विमर्श गरिएको परराष्ट्रसचिव राईले जानकारी दिए।