
२१ भदौ, काठमाडौं । काठमाडौं उपत्यकाको ऐतिहासिक तथा सांस्कृतिक पर्व इन्द्रजात्रा शनिबार वसन्तपुर क्षेत्रमा विशेष उत्साहका साथ मनाइएको छ। इन्द्रदेवको आराधनासहित सुरु भएको यस पर्वमा विविध सांस्कृतिक प्रस्तुति, धार्मिक अनुष्ठान र रथयात्राले राजधानीलाई रंगीन बनाएको छ।
भाद्र शुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिअनुसार इन्द्रध्वजाको लिङ्गो ठड्याएपछि प्रारम्भ हुने यो पर्व आठ दिनसम्म धूमधामसाथ चल्ने परम्परा छ। विशेषगरी भक्कु नाच, महाकालीनाच, लाखेनाच, दशावतार नाच र ऐरावत हात्तीको प्रतीक पुलुकिसी नाच यस पर्वको प्रमुख आकर्षण मानिन्छ।
राष्ट्रपतिदेखि जीवित देवी कुमारी, गणेश र भैरवसम्मको सहभागिताले यस पर्वलाई अझ विशेष बनाउने चलन छ। शनिबार राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली लगायत उच्च पदस्थ व्यक्तिहरू वसन्तपुर पुगेर जीवित देवीहरूको रथयात्रा अवलोकन गरेका थिए।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले राष्ट्रपति पौडेललाई स्वागत गरेका थिए भने प्रधानमन्त्री ओलीलाई भने महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले स्वागत गरे।
काठमाडौं महानगरपालिकाले प्रत्येक वर्षझैं यस वर्ष पनि विशेष कार्यक्रमको आयोजना गरेको थियो। उपत्यका मात्र नभई ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका विभिन्न स्थानमा पनि इन्द्रजात्रा उल्लासपूर्वक मनाइन्छ।