News Portal

चाँगुनारायण नगर प्रमुखको अभिव्यक्तिप्रति पाँच पत्रकार संगठनको संयुक्त बिज्ञप्ति 

सुनौलो पोष्ट संवाददाता

 

भक्तपुर / चाँगुनारायण नगरपालिकाका नगर प्रमुख जीवन खत्रीको पत्रकारप्रति सार्वजनिक अभिव्यक्तिप्रति पाँच पत्रकार संगठनहरूले संयुक्त विज्ञप्ति जारी गर्दै गम्भीर आपत्ति जनाएका छन्।

विज्ञप्तिमा चाँगुनारायण नगरपालिकाले आफैं सञ्चालन गर्ने अनलाइन न्यूज पोर्टल चाँगुनारायण समाचार डटकम को आधिकारिक इमेलबाट २०८२ भदौ १२ गते मध्यान्ह तस्वीरसहित समाचार विभिन्न मिडियामा पठाइएको र सोही समाचार नगरपालिका पोर्टलमै पनि प्रकाशित भएको स्पष्ट गरिएको छ।

तर, उक्त समाचार सम्प्रेषण भएपछि नगरप्रमुखले पत्रकारमाथि सामाजिक सञ्जालमार्फत आपत्तिजनक टिप्पणी गरेकोप्रति पत्रकार संगठनहरूले खेद प्रकट गरेका छन्। विज्ञप्तिमा भनिएको छ– “कार्यक्रमको जानकारी आफैं पठाउने र त्यसैलाई सम्प्रेषण गर्ने पत्रकारहरूमाथि नगर प्रमुखबाट प्रयोग गरिएका आपत्तिजनक शब्द अनुचित र अस्वीकार्य छन्।”

पत्रकार संगठनहरूले नगर प्रमुखजस्तो संवैधानिक पदमा रहेका व्यक्तिहरूले आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन सचेत रहन आग्रह गरेका छन्। साथै, नेपाल पत्रकार महासंघ भक्तपुर शाखा नेतृत्व मौन रहँदा पत्रकारहरूको महासंघप्रतिको विश्वासमा कमी आउने सम्भावना रहेको भन्दै गम्भीर ध्यानाकर्षण गराइएको छ।

संयुक्त विज्ञप्तिमा प्रेस सेन्टर नेपाल भक्तपुर, समाजवादी प्रेस संगठन नेपाल भक्तपुर, जनपत्रकार संगठन नेपाल भक्तपुर, स्वतन्त्र पत्रकार संघ भक्तपुर र फोनिज भक्तपुरका प्रतिनिधिहरूको हस्ताक्षर रहेको छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो