News Portal

सञ्चालनमा नरहेका विद्यालय खारेजी प्रक्रिया अघि बढाउँदै कामपा, २५ विद्यालयको नाम परिवर्तन स्वीकृत

आर्थिक वर्ष २०८२/८३ को शिक्षा बजेट, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमको उपयोगिता र सुधार सम्भावनाबारे समितिमार्फत १५ दिनभित्र प्रतिवेदन तयार पार्ने तयारी भएको कामपाले जनाएको छ ।

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले दर्ता भएका तर लामो समयदेखि सञ्चालनमा नरहेका संस्थागत विद्यालयहरूको अनुमति खारेजी गर्ने प्रक्रिया सुरु गरेको छ ।

कामपा शिक्षा विभागका अनुसार स्थलगत अनुगमनपछि यस्ता विद्यालयहरूको अनुमति खारेजीका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ । उपप्रमुख सुनिता डङ्गोलले वैकल्पिक विद्यालय महिला ज्योति, जायना र जेम्स नमूनालाई स्थानान्तरण अनुमति दिइएको तथा २५ विद्यालयलाई नाम परिवर्तनको स्वीकृति प्रदान गरिएको जानकारी दिइन् ।

उनका अनुसार कक्षा र विषय थप, नाम र स्थान परिवर्तन, स्वामित्व हेरफेर, सञ्चालनमा नरहेका विद्यालय खारेजी तथा वैकल्पिक विद्यालय स्थानान्तरणलगायतका विषयमा शिक्षा समितिमा निरन्तर छलफल भइरहेको छ ।

शैक्षिक सत्र २०८२ देखि रानीदेवी माध्यमिक विद्यालय, रानीबारीलाई कक्षा १० सञ्चालनको अनुमति दिइएको छ । त्यस्तै पशुपति मित्र, गीतामाता, जनकल्याण, जनपथ र नेपाल आदर्श माध्यमिक विद्यालयलाई प्राविधिक धारअन्तर्गत कक्षा १२ मा सिभिल र कम्प्युटर इञ्जिनियरिङ विषय थप्न स्वीकृति प्रदान गरिएको छ ।

कामपाले संस्थागत विद्यालयहरूको कक्षा र विषय थपका लागि १२ विद्यालयलाई अनुमति दिने तयारी गरेको छ भने नाम परिवर्तनका लागि कागजात पेस गरेका २१ विद्यालयलाई स्वीकृति दिइसकेको छ । विद्यालय स्थानान्तरणका लागि आवश्यक मापदण्ड तयार गरी आगामी शिक्षा समितिको बैठकमा पेश गर्ने जिम्मेवारी शिक्षा तथा स्वास्थ्य समितिलाई दिइएको छ ।

यस्तै, आर्थिक वर्ष २०८२/८३ को शिक्षा बजेट, ‘बुक फ्रि फ्राइडे’ कार्यक्रमको उपयोगिता र सुधार सम्भावनाबारे समितिमार्फत १५ दिनभित्र प्रतिवेदन तयार पार्ने तयारी भएको कामपाले जनाएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि डा. सुरजराज काफ्लेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ । कार्यदलले विद्यालय सञ्चालन मापदण्ड, स्रोत नक्साङ्कन, भौतिक संरचना, शैक्षिक गुणस्तर र दीर्घकालीन शिक्षा योजनाबारे सुझावसहितको प्रतिवेदन पेस गर्नेछ । साथै प्रारम्भिक बाल विकास अभिलेखीकरण र विधान दर्ताका लागि शिक्षा विभागले अध्ययन कार्य अघि बढाइरहेको छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो