
काठमाडौं, / सरकारले जापान सरकारसँग करिब रु ३० अर्ब ८ करोड बराबरको सहुलियतपूर्ण ऋण सहायता लिने भएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
सहुलियतपूर्ण ऋण अन्तर्गत प्राप्त हुने रकम कोटेश्वर इन्टरसेक्सन सुधार परियोजनामा प्रयोग गरिनेछ। यस परियोजनाले काठमाडौँ उपत्यकाको प्रमुख सडक चोकलाई आधुनिक बनाउँदै यातायात व्यवस्थापनमा सुधार ल्याउने उद्देश्य राखेको छ।
सरकारका प्रवक्ता तथा सञ्चार मन्त्री पृथ्वी सुव्बा गुरुङले मन्त्रिपरिषद्को निर्णयबारे जानकारी दिँदै, “जापान सरकारको ऋण सहायता मार्फत कोटेश्वर इन्टरसेक्सनलाई व्यवस्थित बनाइनेछ। यसले ट्राफिक व्यवस्थापन, सडक दुर्घटना न्यूनिकरण र सार्वजनिक आवागमनमा सहजता ल्याउने अपेक्षा गरिएको छ,” भने।
नेपाल र जापानबीच यसअघि पनि भूकम्पपछिको पुनर्निर्माण, पानी व्यवस्थापन, शहरी विकास लगायतका क्षेत्रमा ठूलो मात्रामा ऋण तथा अनुदान सहयोग हुँदै आएको छ। ताजै निर्णय अन्तर्गतको ऋण भने काठमाडौं उपत्यकाको यातायात पूर्वाधार विकासमा केन्द्रित हुने भएको छ।