News Portal

  • सम्पादकीय : हामी सुनौलो भबिस्यका लागि अघि बढ्नेछौं

    सुनौलोपोष्ट संवाददाता२०८१ माघ ५
    570Shares

     

    नेपाल प्राकृतिक साधन, सम्पदा र श्रोतका हिसाबले निकै भरिपूर्ण र प्रचुर संभावना भएको देश हो । यहाँ भौगोलिक विविधता, बाताबरणीय स्वच्छता र सुन्दर प्राकृतिक भू बनौट मात्रै होइन, श्रमवीर, सिर्जनशील र पौरखी हातहरु पनि उत्तिकै छन । पूर्व मेचीदेखी पश्चिम महाकालीसम्म, उत्तर हिमालदेखि दक्षिण तराईसम्म थुप्रै संभावनाहरुको खानीहरु पनि छन । यति हुँदाहुँदै पनि देशको बिकास प्रक्रियामा आशातित प्रगति भने अझै हुन सकेको छैन । देश अल्पविकसित देशहरूको सुचीबाट माथी उग्लिन सकेको छैन ।

     

    हामीले बिकास-बिकास भन्दै योजनाबद्द आवधिक बिकास योजनाको प्रारम्भ गरेको साढे ६ दशक भैसकेको छ । नेपाल यतिबेला १६ औ आवधिक योजना कार्यान्वयनको दिशामा अघि बढीरहेको छ। यो बीचमा शिक्षा, स्वास्थ्य, नागरिकको सरदर आयु, प्रतिव्यक्ति आय लगायतका केहि सूचक र अवस्थामा अवश्य पनि परिवर्तन भएको छ। यो भन्नुको अर्थ हाम्रो आफ्नै शासनसत्ताले यी सबै परिवर्तन गरेको हो भनेर कदापि दावी गर्न चाहिँ सकिन्न । कतिपय स्वभाविक र कतिपय अन्तरास्ट्रिय कारणले पनि नेपाली नागरिकको जीवनस्तरमा थोरबहुत परिवर्तन आएको हो तर हामीले विकासका समस्टिगत परिसूचक हेयौं भने देश अहिले आर्थिक हिसाबले सक्रिय मानिने युवाशक्तिबिहिन भैसकेकोछ । महङ्गी, भ्रस्टाचार, बढ्‌दो प्रतिव्यक्ति सार्वजनिक रिणभार, राजनीतिक अस्थिरता, साँस्कृतिक अतिक्रमण हाम्रा नकारात्मक परिचय बन्न गएका छन। नागरिकहरु विद्यमान शासन र शासकहरुसङ्ग असन्तुष्ट मात्रै होइन, त्यसको विकल्पको खोजीमा छन् भन्दा अब अन्यथा हुनेछैन ।

     

    समाजमा खराबी, बिकृति र अराजकताको जुन अनुभूति गरिदैछ, यसरी नै देश अधि जाने हो भने अब देशको सार्वभौम अस्तित्व समेत रहन्छ वा रहन्न, यो सोचनीय प्रश्न हो। हामीले माथी देश र हामी बाचेको बर्तमान समाजको जुन सामान्य चर्चा गयौ, अब यसको निकास र समाधान पनि यहि असहजता र संकटको बीचबाट आउनेछ। समाजमा देखिने राजनीतिक आर्थिक असफलताहरुले समयक्रममा त्यसको निदान र समाधानको उपाय पनि अबश्यै लिएर आउनेछन । त्यसकारण हामीले समस्याको जुन चर्चा गरेको छौ, यसले निकट भबिस्यमा समाधानको विकल्प पनि भेट्टाउने छ भन्ने हाम्रो विश्वास हो ।

     

    हामीले यतिबेला देशको आजको बेथिति र गहिरीदो संकटको गर्भमा नयाँ र सुनौलो भबिस्यको सपना पनि देखेका छौं । समाज किन दिनप्रतिदिन नकारात्मक बन्दै छ, यो हामी सबैको साझा भोगाइ र साझा प्रश्न हो। समाज र देशको मुहार सच्चिकै फेर्ने नै हो भने एकपटक हाम्रो पुस्ता फेरि जाग्नु अनिवार्य छ । हामी नजाग्ने हो भने हामीले जति नै बिलौना गरे पनि सामाजिक खराबी, आर्थिक भ्रस्टाचार र कुशासनको अन्त्य हुनेछैन। यी आशा र सपनाहरुलाई सामाजिक यथार्थतामा बदल्नका लागि हामीले सुनौलो पोष्ट मासिक र यसैको अनलाइन सस्करण सुनौलो पोस्ट डटकम सञ्चालनमा ल्याएका छौ। हामीले प्रारम्भ गरेको सञ्चार क्षेत्रको यो सानो प्रयासले मात्रै सबै समस्या समाधान भैहाल्छन भन्ने होइन तथापि हामी जस्तै हजारौ जागरुक युवाहरुको सपना, उर्जा र प्रतिबद्धताले नै समाजलाई अग्रगती दिनेछ भन्ने कुरामा हाम्रो टिम पूर्णतः विश्वश्त छ । आगामी दिनहरूमा सुनौलो पोस्टको टिम र यसको यात्रामा केहि चुनौती र केहि उकाली ओराली आउन सक्दछ्न तर पनि हाम्रो प्रतिबद्धता र यात्रा आफ्नो घोषित उदेश्यबाट डगमगाउने छैन । भ्रष्टाचार र कुशासन विरुद्ध सशक्त रुपमा उभिने, समाजका समस्याहरुका कारण र समाधानका उपायहरु खोतल्दै अघि बढ्ने हाम्रो अठोट रहनेछ । सुनौलो पोस्ट मासिकले विद्यमान आर्थिक सामाजिक परिवेशको मिहिन ब्याख्या गर्दै पत्रकारिताको माध्यमबाट समाजलाई सुसूचित गर्नेछ, खबरदारी र पहरेदारीताको जिम्मेवारी पूरा गर्न अगाडि बढ्‌ने छ ।

    प्रतिकृया दिनुहोस्