News Portal

देशभर साधारणतया बदली, केही प्रदेशमा भारी वर्षाको सम्भावना

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । गएराति देशका विभिन्न स्थानमा भारी वर्षा भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सबैभन्दा धेरै वर्षा पूर्वी नवलपरासी (नवलपुर) को देउरालीमा १०९.६ मिलिमिटर मापन गरिएको छ ।

यस्तै सुर्खेतको गोठीकाँडामा १०१.४, सुर्खेतकै जम्मुमा ६२.४, पाल्पाको अर्चलेमा ७८.२, कैलालीमा ६६.२, अर्घाखाँचीमा ५०.४ र चितवनको गोविन्दबस्तीमा ५५.८ मिलिमिटर वर्षा मापन भएको विभागले जनाएको छ ।

विभागका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास अवस्थित छ । साथै अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेकाले नेपालमा पानी पर्ने क्रम जारी रहेको हो ।

आज (बुधबार) पनि देशभर साधारणतया बदली रहने विभागले जनाएको छ । कोशी, मधेश, बागमती र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ भने गण्डकी प्रदेशको पहाडी भूभागका केही ठाउँमा र बाँकी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान छ ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो