News Portal

नेपालमा मनसुन कमजोर, तर पहाडी भूभागमा भारी वर्षाको सम्भावना

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन कमजोर भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यसको प्रभावले हाल कोशी प्रदेशको पहाडी भूभाग, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्य बदली छ भने बाँकी क्षेत्रमा आंशिक बदलीदेखि मुख्यतः सफा मौसम रहेको छ।

महाशाखाका अनुसार बागमती प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मध्यम वर्षा भइरहेको छ भने कोशी, मधेस, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा सामान्य बदली रहनेछ भने तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ। विशेषगरी बागमती प्रदेशको पहाडी क्षेत्रमा एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान गरिएको छ।

आज राति देशभर सामान्य बदली रहनेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा र कोशी, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेकाले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा सतर्कता अपनाउन महाशाखाले सर्वसाधारणलाई आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो