News Portal

  • कर्णाली सुदूरपश्चिममा वर्षा र हिमालमा हिमपात

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष १३
    330Shares

    काठमाडौं : पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावका कारण शनिबार बिहान सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ। पछिल्लो तीन घन्टामा सिमिकोट विमानस्थलमा ६.९ मिलिमिटर, कालीकोटको  ३.२ मिलिमिटर र बैतडीमा २.२ मिलिमिटर वर्षा मापन भएको छ।

    शनिबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। सुदूरपश्चिम र कर्णालीका धेरै स्थानमा, साथै कोशी प्रदेशका पहाडी भू-भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। बाँकी प्रदेशका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    सुदूरपश्चिम र कर्णालीका उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानमा हल्कादेखि मध्यम हिमपात भइरहेको छ। दिउँसो गण्डकी र बागमती प्रदेशका उच्च पहाडी क्षेत्रमा पनि हिमपातको सम्भावना छ।

    शनिबार राति सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदली रहनेछ। सुदूरपश्चिम, कर्णाली र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।

    साथै, यी प्रदेशका उच्च पहाडी तथा हिमाली क्षेत्र र गण्डकी तथा बागमती प्रदेशका एक-दुई स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

    प्रतिकृया दिनुहोस्