
काठमाडौं : जेनजी समूहको आन्दोलनका क्रममा निधन भएकाहरूलाई मंगलबार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ। पशुपति आर्यघाटमा ऊर्जा मन्त्री कुलमान घिसिङ र गृहमन्त्री ओमप्रकाश अर्यालले मृतकको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएका थिए।
अन्त्येष्टिअघि महाराजगञ्जस्थित टिचिङ अस्पतालबाट शवयात्रा गरिएको थियो। आर्यघाटमा सुरक्षा निकायले मृतकलाई सलामी अर्पण गरेका थिए। केही मृतकको अन्त्येष्टि पशुपति आर्यघाटमै गरिएको छ भने केहीलाई आफ्ना जिल्लामा लैजाने तयारी भएको छ।
सरकारले भदौ २३ र २४ को आन्दोलनमा मृत्यु भएकालाई राष्ट्रिय झण्डा ओढाइ सहिद घोषणा गर्ने निर्णय गरेको थियो। त्यसअनुसार अन्त्येष्टि सम्पन्न गरिएको हो। साथै, सरकारले मृतकका परिवारलाई जनही १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने र जेनजी स्मारक पार्क निर्माण गर्ने निर्णय समेत गरेको छ।
जेनजी आन्दोलनका क्रममा हालसम्म ७२ जनाको मृत्यु भएको छ भने सयौं घाइते विभिन्न अस्पतालमा उपचाररत छन्।