
काठमाडौँ । निर्वाचन आयोगले मनाङको प्रदेश सभा क्षेत्र २ र रूपन्देहीको प्रतिनिधि सभा क्षेत्र ३ मा उपनिर्वाचन कात्तिक १७ गते गर्ने निर्णय गरेको छ।
मनाङ प्रदेश सभा क्षेत्र २ मा २०७९ मंसिरमा स्वतन्त्र उम्मेदवार राजिव गुरूङ (दीपक मनाङे) निर्वाचित भएका थिए। तर, चक्रे मिलनमाथि ज्यान मार्ने उद्योगको मुद्दामा सर्वोच्च अदालतले दीपक मनाङेलाई जेल सजाय सुनाएको थियो। साथै, सर्वोच्चले उनलाई गण्डकी प्रदेश सभा सदस्यको हैसियतमा पदमा बस्न अयोग्य ठहर गरेको थियो। यसपछि सो क्षेत्रमा उपनिर्वाचनको निर्णय गरिएको हो।
त्यसैगरी, रूपन्देही प्रतिनिधि सभा क्षेत्र ३ मा निर्वाचित राप्रपा सांसद दीपक बोहराको निधनपछि यहाँ पनि कात्तिक १७ गते उपनिर्वाचन आयोजना हुने भएको छ।
निर्वाचन आयोगले दुवै क्षेत्रमा मतदाता सुची अद्यावधिक गर्ने, उम्मेदवारी पेश गर्ने र मतदानका अन्य तयारीलाई समयमै सम्पन्न गर्ने योजना बनाएको जनाएको छ।