
विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले उपाध्यक्ष जनार्दन शर्मालाई लक्षित गर्दै कठोर टिप्पणी गरेका छन् ।
शुक्रबार विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले भने, “एक जना प्रभाकर (जनार्दन शर्मा) ले नपत्याएर पार्टी, आन्दोलन र इतिहास रोकिँदैन । यसबारे स्थायी समितिको बैठकले पहिले नै स्पष्ट निर्णय गरिसकेको छ ।”
प्रचण्डका अनुसार पार्टीभित्रको विवादलाई केहीले अनावश्यक रूपमा चर्काउने प्रयास गरिरहेका छन् । उनले पत्रकारलाई सम्बोधन गर्दै भने, “यो विषयलाई बढाइचढाइ गर्न आवश्यक छैन । पदाधिकारी बैठकमा यसबारे थप छलफल हुनेछ ।”
हालै प्रचण्डले पार्टीभित्र ‘स्वार्थ समूह’ हाबी भएको भन्दै कठोर चेतावनी दिँदै आएका छन् । यसै प्रसंगमा उनले स्पष्ट पारे, “स्वार्थ समूह भन्नाले पार्टीको नीति, पद्धति र नेतृत्वभन्दा बाहिर व्यक्तिगत स्वार्थका लागि बैठक वा गतिविधि गर्ने प्रवृत्तिलाई जनाइएको हो ।”
माओवादी केन्द्रले अर्को हप्ता पदाधिकारी बैठक बोलाएको छ । सो बैठकमा जनार्दन शर्माविरुद्ध कारबाही एजेन्डा प्रवेश गर्ने सम्भावना पार्टी नेताहरूले औंल्याएका छन् ।
यसैबीच, शर्माले भने रुपन्देहीमा रहँदै नेकपा विप्लव समूहका नेता नेत्रविक्रम चन्द र पूर्व एमाले नेता घनश्याम भुसालसँग सहकार्यसम्बन्धी छलफल र अन्तरक्रिया तीव्र पारेका छन् ।