News Portal

अन्धविश्वासको कैदमा महिला ,छाउगोठले जन्माएको यातना

संगिता बल

पश्चिम नेपालको दुर्गम गाउँ–बेसीमा अहिले पनि महिलाहरू महिनावारी भएको समयमा छाउगोठमा बस्न बाध्य छन्। सरकारले यो अमानवीय प्रथा भन्दै कानुन बनाएर निषेध गरेको धेरै वर्ष भइसके पनि व्यवहारमा भने अझै पनि यो चलन मजबुत रूपमा कायम छ। कानुनले रोके पनि चेतनाले नछोडेको बेडि बनेको छ छाउपडी।

छाउगोठ नबस्ने महिलाले समाजको लाञ्छना सहनुपर्छ। “छाउगोठ नबस्दा देवीदेवताले रिसाउँछन्, गाउँमा अनिष्ट हुन्छ” “दाजुभाईलाई ग्रह लाग्ने वा अशुभ हुन्छ भन्ने अन्धविश्वास गहिरो रुपमा मानिसको मानसपटलमा बसेको छ । तर छाउगोठ बस्नेलाई भने स्वास्थ्य र सुरक्षाको कठोर पीडा बेहोर्नु परेको छ। घामपानीमा असुरक्षित कोठामा बस्नुपर्ने, सर्प–बिच्छी,हिंसा र मृत्यु सम्मको डर मोल्नुपर्ने अवस्था छ।

अझ दर्दनाक कुरा, छाउगोठमै बस्दा धेरै महिलाले ज्यान गुमाएका छन्। कहिले धुवाँको धुँवा त कहिले चिसोका कारण उनीहरू मृत्युको मुखमा पुगेका छन्। तर गाउँलेहरूले यस्तो मृत्यु ‘देवताको रिस’ भनेर बुझ्ने गरेका छन्।

“छाउगोठ छोड्दा समाजले पाखण्डी, अपवित्र भनेर हेला गर्छ। तर बस्दा शारीरिक र मानसिक यातना सहनुपर्छ,” प्रभावित महिलाहरू भन्छन्।

स्थानीय निकाय र महिला समूहहरूले छाउगोठ भत्काउने अभियान चलाए पनि स्थायी समाधान भने हुन सकेको छैन। कारण समाजमा गहिरो रूपमा गढिएको मानसिकता र अन्धविश्वास नै हो। कानुन मात्र होइन, चेतनाको स्तरमा पनि परिवर्तन आवश्यक देखिएको छ।

विशेषज्ञहरू भन्छन्, छाउगोठ प्रथाले महिला मात्र होइन, सम्पूर्ण समाजलाई नै लाजमा पारेको छ। प्रश्न उठ्छ– “कति दिनसम्म महिला लाञ्छना र यातनाबीच जीवन बिताउन बाध्य हुने ?”

प्रतिकृया दिनुहोस्

ताजा भिडियो