

काठमाडौ।सुदुरपश्चिम र कर्णाली क्षेत्रमा परम्परागत रुपमा प्रचलित कलाको शसक्त माध्यम मानिएको देउडा गित मार्फत विप्लवको खोजी गरिएको छ।‘घुसतन्त्रले दुख पाइया छ, देशमा अव विप्लव चाइया छ’ बोलको देउडा गित बिहिवार युट्युब मार्फत सार्वजनिक गरिएको हो।
यतिबेला राजनीतिक अस्थिरता, आर्थिक संकट, सामाजिक अराजकता एवम् निराशा र साँस्कृतिक बिकृतिको कालो बादल मडारिएको छ। नागरिकहरुले अपेक्षा गरेका न्यूनतम कुराहरू समेत गणतन्त्ररुपी विद्यमान व्यवस्थाबाट पुरा हुने स्थिति नभएपछि एकातिर निराशा, पीडा र उकुसमुकुसको अवस्था छ भने अर्कोतिर समस्याको स्थायी र भरपर्दो समाधानका लागि शासकीय संरचनाको परिवर्तन र वैकल्पिक व्यवस्थाको खोजी भैरहेको छ।
सामाजिक बेथिति र भ्रष्टाचार विरुद्ध कथा , कविता, गित संगीत,हास्यव्यङ्ग्य लगायत कलाका माध्यमद्वारा प्रतिरोध आन्दोलन चलिरहेको योबेला नेकपा स्थायी समिति सदस्य एवम् श्रस्टा भरत सी `रणबीर´को देउडा गित मार्फत घुसतन्त्रले सीमा नाघेको र जनता वाक्कदिक्क भएको सन्दर्भ कोट्याउदै देउडाको पहिलो हरफमा भनिएको छ:
माथि लेख हिमालचुली,फुल्याको बिकैछ!
अवस्था व्यवस्था फेरौं,नभनौ ठिकै छ !!
आजको व्यवस्था बोकी,जनता फेरीए !
एकचोटी विप्लवलाई हेरौं,अरु सब हेरीए !!
गणतन्त्र स्थापना भएको दुई दशक हुँदा समेत संसदवादी पार्टी र तिनका नेताहरूले पटकपटक सत्ताको भोग गरिरहेको भए पनि मजदुर ,किसान, महिला, दलित जनजाति लगायत श्रमजीवी जनताको दैनिकी निकै कस्टकर भएको बेला जनजीवनमा आधारभूत स्थितिमा परिवर्तन ल्याउन समेत नयाँ व्यवस्था र नयाँ नेतृत्व अथवा विप्लव अगाडि आउनुपर्ने अनिवार्य रहेको कुरा गित मार्फत जोड दिइएको छ।
काहिलेकाहीँ भन्ने गरिन्छ जब राजनीति लर्खराउछ, श्रस्टाहरुले राजनीतिलाई दिशानिर्देश गर्नुपर्छ ।कलाकार , कबि, लेखक, पत्रकार,साहित्यकारहरुले समाजलाई बाटो देखाउनु पर्छ ।सामाजिक क्रान्तिको इतिहासमा प्रायः यस्तो हुने गरेको पनि छ।जनताले आफैंले लडेर स्थापित गरेको व्यवस्थामा उनिहरु शोषित पीडित छन, एकछाक चुल्हो बल्न लालाबाला छोडेर दैनिक २ हजार बढी मान्छेहरू काम र मामको खोजिमा बिदेसिन्छन।युवायुवतीको मनोबिज्ञान कस्तो छ भन्ने कुरा हामीले अन्तरास्ट्रिय बिमानस्थलमा गएर हेर्यौ भने उनिहरु भित्रको वेदना र चित्कार कसरी छचल्कीएको छ भन्ने कुरा अनुभूत गर्न सक्छौं ।
आर्थिक रुपले सक्रिय जनशक्ति मानिएको युवा पलायनता हाम्रो नियति जस्तो देखिएको बेला देउडा गितको दोस्रो हरफमा युवा वेरोजगारी बढेको,सिंहदरबारको घुसखोरी गाउँ र बस्तीमा पुगेको, रोजगारी नभएका कारण युवाहरु विदेश पलायन हुँदा गाउँहरु रित्ता र उजाड भएको उल्लेख गर्दै गितमा,
“अचाक्ली घुसखान लागे,फेरी फेरी भेष!
देशभित्रै आफन्त छाडि,जानलागे विदेश !!
बेरोजगारी भ्रष्टाचार,देश छ बेहाल!
रोजगारी सिर्जना भए,फर्किन्छन नेपाल !!”
भन्दै देशको सामाजिक आर्थिक बेथितिको चित्रण गरिएको छ।
सहिद बेपत्ता र घाइते योद्धाको बलिदान एवम् योगदानलाई स्मरण गर्दै माओवादीको एउटा हिस्सा सत्तासीन भएपछि सहिद परिवार निकै पीडित भएको र केहि मान्छेहरु नयाँ भुइँफुट्टा अभिजात वर्गमा परिणत भएको बिषयलाई समेत गित मार्फत उजागर गरिएको छ।
कालिकोट माओवादी जनयुद्धको तेस्रो पिल्लर थियो।कालिकोटले बलिदानको कोट चुक्ता गरेको थियो र त जनयुद्ध थप बिस्तार हुन संभव भएको हो।उसो त देउडा गितका सर्जक भरत सी `रणबीर´ आफै सहिद परिवार समेत हुन।कालिकोटमा कुनै त्यस्तो गाउँ छैन , जहाँ सहिद नभएको होस् , प्राय अधिकाङ्स गाउँहरु रणभुमिमा परिणत भएका थिए जनयुद्धको बेला।तत्कालीन सरकारले किलो शेरा टु सञ्चालन गरेपछि मानिसहरूलाई समातेर भिरमा लडाएर हत्या गरिएको थियो।यसरी युद्दको दर्द आफ्नै छातीमा प्रहार हुँदा पीडा सहेको कालिकोटबाट जन्मेका केहि मानिसहरू पुरानो सत्ताको चास्निमा चुर्लुम्म डुबेर आफ्नै बिगत भुलेको प्रसङ्ग समेत स्मरण गर्दै देउडा गितको अर्को हरफमा-
“विप्लवले सम्झेकै होलान,कालिकोटका वस्ति !
सहिदको रगतसंग,कसले गर्यो मस्ति !!
नेपालका दुगर्म वस्ती,कसा छन आजभोलि !
किन बिर्से नेता ज्यूले,जनयुद्धको बोली !!” भनेर उल्लेख गरिएको छ।
नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव जनयुद्धको कठिन समयमा वर्गसंघर्ष उठाउन कर्णाली पुगेका थिए।कर्णालीका जनताका अभाव , अनिकाल र पीडाको राम्रो जानिफकार र भुक्तभोगी स्वयं विप्लव हुनुहुन्छ ।उहाँलाई कालिकोट र कर्णालीको बलिदानको उचाइ राम्ररी बोध छ।त्यसैले त विप्लवले क्रान्तिको निरंतरताका लागि कहिल्यै कुनै सम्झौता गर्नु भएन नि !
विप्लव आफैमा नेता त हुँदै हो साथसाथै नेपाली समाजको समकालीन बिद्रोही मनोबिज्ञान र भावधाराको उत्कृष्ट प्रतिनिधि पनि हो।मानिसहरू जब अन्याय, अत्याचार र बिकृतिको जीवन भोग्छन, त्यहाँ बिप्लको खोजी हुने गरेको छ।श्रीमान श्रीमतीको झागडामा समेत पीडित महिलाले विप्लव नेतृत्वको नेकपा खोज्दै हिडेका कतिपय सन्दर्भहरु समेत हामीले नजिकबाट देखेका छौं ।
त्यसैले देउडा गितमा विप्लवको खोजीको अर्थ अन्याय विरुद्ध बिद्रोह खोजिएको हो।बेथिति विरुद्ध जागरण र दलाल संसदीय व्यवस्थाको उत्पीडन विरुद्ध उदीयमान समाजवाद खोजिएको हो।यो कुरालाई “घुसतन्त्रले दुख पाइया छ, देशमा अव विप्लव चाइया छ” भनेर प्रतिकात्मक अर्थमा व्यक्त गरिएको देखिन्छ ।
त्यस्तै गितमा,
कोही नेता असाध्यै भोगी,कोही मात्र त्यागी!
असल नेता ल्याउनु पर्छ,गलतकन फ्याकी !!
कहाँ हुन्ना जनसेना,कहाँ छन मिलिसिया!
लागेर जनताका दुश्मन,वैरी दुख दिया !!
भन्दै स्थानीय शासकहरु विरुद्धको बिद्रोह र क्रान्ति चेतको उठान गरिएको छ।
डेउडा गितको अन्तिममा सामाजिक क्रान्ति र समाजवादी आन्दोलन निर्माणमा एकता, सहकार्य र मोर्चाबन्दी मार्फत जनताको शक्ति सञ्चय गर्नुपर्ने र त्यो शक्ति र उर्जालाई थप संगठित गरेर अगि बढ्नुपर्ने कुरामा जोड दिदै यसलाई यसरी अभिव्यक्त गरिएको छ:
देशभक्त जनताका नेता,एकजुटभई लड्नुछ!
सदनदेखि सडकसम्म,अगाडि बढनुछ !!
पराईले अत्याचार गरे,आगो बल्छ बल्छ !
नेपालका गाउँ सहर,विप्लव नाम चल्छ !!
गायक महेन्द्र शाही रास्कोटी र सुदुरपश्चिमकी गौरी भट्टको स्वरमा सार्वजकि भएको उक्त गितमा मोडेल आसा कुमारी शाही स्वागत शाहीको अभिनय विभिन्न स्थानीयहरुले अभिनय गरेका छन ।