
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरको नख्खु कारागार स्थानान्तरण गरिएको छ ।
बुद्ध एयरको विमानमार्फत भैरहवाबाट काठमाडौं उडेका लामिछानेलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नख्खु कारागार लगिँदैछ । यसबीच नख्खु कारागार परिसरमा उनका समर्थकहरू भेला हुन थालेका छन् ।
सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि लामिछाने गत चैत २५ गतेदेखि रुपन्देही कारागारमा रहेका थिए । कारागार व्यवस्थापन विभागको निर्णयअनुसार उनलाई आज नख्खु ल्याइएको हो ।
लामिछानेले गत जेठ १४ गते रुपन्देही जिल्ला अदालतमा कारागार सरुवाका लागि निवेदन दिएका थिए । सोही निवेदनमाथि अदालतले जेठ १६ गते अनुमति दिएको थियो ।
स्थानान्तरणको खबर बाहिरिएपछि भैरहवा कारागार अगाडि समेत रास्वपा नेता तथा कार्यकर्ताहरूको भीड लागेको थियो ।