
काठमाडौँ । भगवान् श्रीकृष्णको पूजा–आराधना गर्दै आज देशभर श्रीकृष्णजन्माष्टमी पर्व श्रद्धा र भक्तिसाथ मनाइँदैछ।
ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले यस दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्री’ भनिन्छ। यस अवसरमा भक्तजनले देशभरका कृष्णमन्दिरहरूमा पूजा–आराधना, प्रवचन, भजन–कीर्तन गरी व्रत बसी रातभर जाग्राम बस्ने परम्परा कायम राख्ने गर्छन्।
अन्याय र अत्याचारविरुद्ध सत्य र धर्मको पक्षमा उभिन भगवान् विष्णुको आठौँ अवतारका रूपमा अवतरण गरेका श्रीकृष्णले मानव समुदायलाई सत्कर्मका लागि प्रेरित गर्नुभएको विश्वास गरिन्छ। कुरुक्षेत्र युद्धमा अर्जुनलाई प्रदान गरिएको उपदेश ‘श्रीमद्भागवतगीता’ पवित्र ग्रन्थका रूपमा मानिन्छ, जसलाई विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद गरिएको मानिन्छ।
पौराणिक ग्रन्थअनुसार बाल्यकालदेखि नै विभिन्न लीला प्रदर्शन गर्दै कंश, जरासन्ध, शिशुपाललगायत दानवी प्रवृत्तिको संहार गर्नुभएका श्रीकृष्णप्रति आज विशेष श्रद्धा अर्पण गरिएको छ।
यस अवसरमा पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा मेला लाग्ने परम्परा अनुसार आज पनि ठूलो संख्यामा भक्तजनको उपस्थिती छ। त्यस्तै, कागेश्वरी मनोहरा नगरपालिकास्थित नवतनधाम, बूढानीलकण्ठस्थित अन्तरराष्ट्रिय श्रीकृष्ण भावनामृत सङ्घ (इस्कोन) मन्दिरसहित राजधानीका विभिन्न कृष्णमन्दिरहरूमा भक्तजनको भीड लागेको छ।
यसैगरी, काठमाडौँका विभिन्न धार्मिक सङ्घ–संस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा र रथयात्रा पनि आयोजना गरिएको छ।