
बर्दिया। नेपाल कम्युनिष्ट पार्टी बर्दिया जिल्लाले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) र नेपालको स्वाधीनता, राष्ट्रिय स्वाभिमानमा हस्तक्षेप गर्ने अमेरिकी गतिविधिविरुद्ध आज विरोध कार्यक्रमको घोषणा गरेको छ।
जिल्ला प्रशासन कार्यालय, बर्दियामा बुझाइएको विज्ञप्तिमा पार्टीले एमसीसीलाई देशविरोधी सम्झौता ठहर गर्दै नेपाल सरकार र अमेरिकी सरकारबीच भएको सहमतिको कडा विरोध जनाएको छ। साथै, अमेरिकाको साम्राज्यवादी हस्तक्षेप रोक्न सम्पूर्ण देशभक्त नेपाली जनतासँग एकजुट भई विरोधमा उभिन आग्रह गरिएको छ।
शुक्रवार बिहान ११ बजे प्रमुख चोकहरूमा नाराबाजी र प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालयमार्फत विरोधपत्र बुझाउने कार्यक्रम तय गरेको जनाएको छ।
विज्ञप्तिमा एमसीसीको कार्यान्वयनबाट नेपालको प्राकृतिक स्रोतसाधनमाथि विदेशी नियन्त्रणको खतरा रहेको र यसले मुलुकको स्वतन्त्र नीति निर्धारण क्षमतामै आघात पुर्याउने उल्लेख गरिएको छ।
पार्टीका जिल्ला सेक्रेटरी टिकाराम सी र इन्चार्ज हिमशिखर सीले हस्ताक्षर गरेको विज्ञप्तामा अमेरिकी दबाबमा नेपाल सरकारको आत्मसमर्पणकारी नीतिको विरोध गर्दै यसलाई तत्काल खारेज गर्न माग गरिएको छ।