

फागुन ९, दाङ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव सी’स्याउ रोप्न जुम्ला जाँदै छन् । जुम्लाको हिमा गाउँपालिका-७, धौलापानी फागुन १० गते विप्लवले २ हजार बिरुवा स्याउ रोप्ने कार्यक्रमको उद्घाटन गर्ने छन् ।
स्याउ रोप्ने कार्यक्रमको आयोजना नेकपा केन्द्रिय उत्पादन बिभागले गरेको केन्द्रिय सदस्य अडिग सीले जानकारी दिए ।
उनको साथमा नेकपा स्थायी समिति सदस्य सन्तोष बुढा मगर ‘विषम सी’ पनि जुम्लाको यात्रामा छन् ।
त्यसैगरी फागुन १२ गते कालिकोट जिल्ला तिला गुफ्फा नगरपालिका ३ फोहीईमा १५ सय बिरुवा स्याउ रोप्ने कार्यक्रम रहेको छ । फागुन १४ गते शहिद सप्ताको पहिलो दिन कालिकोट जिल्ला रासकोट नगरपालिका ५ आरसीपी बजारमा बृहत जनसभा हुने र उक्त जनसभालाई विप्लवले सम्बोधन गर्ने नेकपाले जनाएको छ ।
नेकपाको त्रिबेणी साझेदारी भेडाफर्म फागुन १६ गते उद्घाटन कार्यक्रम रहेको छ । कालिकोटको नरहरीनाथ गाउँपालिका ५ रुप्सामा विप्लवले नै फर्मको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । करिव २० लाखको लगानीमा १ सय ३५ भेडाहरु फर्ममा रहेको नेकपा स्रोतले जनाएको छ ।