

काठमाडौ । समाजवादी मोर्चा नेपालले काठमाडौमा उच्छृङखल र अराजक कार्यमा सहभागी अपराधिक र आततायी तत्वको घोर भत्सर्ना एवम निन्दा गरेको छ । मोर्चाले उनीहरुमाथि कडा भन्दा कडा कार्वाही गर्न पनि सरकारसंग माग गरेको छ ।
मोर्चामा आवद्ध ४ राजनीतिक पार्टीका प्रमुख नेताहरुले शुक्रवार साँझ एक प्रेश विज्ञप्ति जारी गर्दै उच्छृङखल र अराजक कार्यमा सहभागी अपराधिक र आततायी तत्वको घोर भत्सर्ना एवम निन्दा गर्दै कडा भन्दा कडा कार्वाहीको माग गरेका हुन ।
समाजवादी मोर्चाले आफ्नो जनसमर्थन र सहभागीताबाट आत्तिएका पूर्नउत्थानवादी र उच्छृङखल प्रतिगामी तत्वहरुले अराजकता सृजना गर्दै नेकपा एकीकृत समाजवादीको केन्द्रीय,काठमाडौ जिल्ला कार्यालय, अध्यक्ष माधब कुमार नेपालका भाई सरोज नेपालको निजी निवास लगायतमा तोडफोड र आगजनी गरेको जनाएको छ ।
मोर्चाले निजी सार्वजनिक सम्पत्ति,कान्तिपुर एवम अन्नपूर्ण पोष्ट लगायतका सञ्चारगृहमा समेत तोडफोड तथा आगजनी गरेको भन्दै कडा आपत्ति जनाएको छ ।
मोर्चाले राजनीतिक दलको कार्यालय,नागरिकको जनधनको सुरक्षा गर्न पनि सरकारसंग जोडदार माग गरेको छ ।
मोर्चाले यथास्थिति र प्रतिगामी षड्यन्त्रका विरुद्ध गणतन्त्रको सम्वद्ध र राष्ट्रिय स्वाधीनताको संरक्षणका लागि आयोजित जनसभामा पचासौं हजार जनताको सहभागीता भएको भन्दै जनताको शालिन, सक्रिय र उत्साहपूर्वक सहभागीतालाई हार्दिक आभार सहित धन्यवाद व्यक्त गरेको छ ।
विज्ञप्तिमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, नेकपाका महासचिव विप्लव र नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्रराय यादवले हस्ताक्षर गर्नु भएको छ ।