काठमाडौँ – हमासद्वारा बेपत्ता पारिएका विपिन जोशीका परिवारका लागि इजरायलबाट खुशीको खबर प्राप्त भएको छ। प्यालेस्टिनी लडाकु समूह हमासले १४ महिनाअघि इजरायलमाथि आक्रमणका क्रममा बन्धक बनाएका कन्चनपुरका विपिन जोशी गाजापट्टीमा रहेको सूचना इजरायल सरकारले प्राप्त गरेको छ ।
यो सूचना सुनाउँदै इजरायलका लागि नेपाली राजदूत शमुलिक ए. बासले जोशी चाँडै नेपाल फर्कने आशा व्यक्त गरेका छन् ।
‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कृषिसम्बन्धी अध्ययनका लागि इजरायल पुगेका जोशीलाई हमासले २०२३ अक्टोबर ७ मा अलुमिम किबुजबाट बन्धक बनाएको थियो । त्यसयता उनको अवस्था अज्ञात थियो ।
‘उनी जीवितै छन् । यो सत्य हो । उनलाई गाजापट्टीको कुनै स्थानमा राखिएको सूचना पाएका छौं,’ काठमाडौंमा बिहीबार कूटनीतिक पत्रकारसँगको भेटमा नवनियुक्त राजदूत बासले भनेका छन् । जोशी जिवित रहेको सूचना अरबी मुलुकहरूको स्रोतबाट प्राप्त भएको उनको भनाइ छ ।