News Portal

भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन हुने : सुशीला कार्की

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार छानबिनका लागि छुट्टै आयोग गठन गर्ने घोषणा गरेकी छन् । उनले बीबीसी नेपालीलाई दिएको विशेष अन्तर्वार्तामा आन्दोलनको म्याण्डेटअनुसार आयोग अपरिहार्य भएको उल्लेख गर्दै आगामी सरकारले सहजै काम गर्न सक्ने आधार तयार पार्ने उद्देश्य रहेको बताइन् ।

उनका अनुसार, आयोगले अनियमितता र भ्रष्टाचारबारे अनुसन्धान गरेर आवश्यक कारबाही प्रक्रियासम्म पुर्‍याउने जिम्मेवारी पाउनेछ । “हामी बाटो बनाउँछौं, अर्को सरकारले सजिलै अघि बढोस् भन्ने हाम्रो चाहना हो,” प्रधानमन्त्री कार्कीले भनिन् ।

यस्तै, जेनजी आन्दोलनको दमनबारे जाँचबुझ गर्न तीन सदस्यीय आयोग गठन हुने पनि उनले जानकारी दिइन् । उक्त आयोगलाई सुरुमा एक महिनाको समय दिने र आवश्यक परे थप १५ दिन समय थपिने उल्लेख गरिन् ।

मन्त्रिपरिषद्को बैठकले हिजो नै आयोग गठन गर्ने सैद्धान्तिक निर्णय गरिसकेको छ । सरकारको कार्यकाल ६ महिनामात्र भएकाले यो अवधिमा अधिकतम काम गर्ने लक्ष्य रहेको प्रधानमन्त्री कार्कीले स्पष्ट पारेकी छन् ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो