
काठमाडौं । ललितपुरको नक्खुस्थित कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका कैदीबन्दीहरुलाई तुरुन्तै सम्पर्कमा आउन सार्वजनिक अपिल गरेको छ ।
कारागार प्रशासनले विधि र कानुनको पूर्ण परिपालना गर्दै आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति–सुव्यवस्था कायम गर्न सहयोग गर्न आग्रह गरेको हो ।
जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीबन्दीहरु नक्खु कारागारबाट बाहिरिएका थिए । लामिछानेले आफूलाई प्रशासनले कानुनी प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका छन् । तर, कारागार प्रशासनले भने उनीहरुसहित सम्पूर्ण फरार थुनुवा र कैदीलाई सम्पर्कमा आउन चेतावनी दिएको छ ।
प्रशासनले सूचना जारी गर्दै भनेको छ, ‘सम्पर्कमा नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन बमोजिम थप कडाइका साथ सजाय कार्यान्वयन गरिने व्यहोरा अवगत गराइन्छ ।’
सूचनामा विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै आत्मसमर्पण गर्न सबै फरार कैदीबन्दीलाई औपचारिक अपिल गरिएको उल्लेख छ ।