
काठमाडौं । अन्तरिम सरकारका मन्त्रीद्वय रामेश्वर खनाल र कुलमान घिसिङले सरकारी सेवा सुविधा नलिने घोषणा गरेपछि यस विषयलाई नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनतामा भ्रम फैलाउने काम मात्र भएको टिप्पणी गरेका छन्।
कपिलवस्तुमा शहीद परिवारलाई घर हस्तान्तरण कार्यक्रममा बोल्दै विप्लवले भने, “मन्त्रीहरुले तलब लिदिनँ भनेर भाषण गरे भन्ने सुनेँ। तलब नलिएर के खान्छ त ? माटो खान्छ ?”
उनले यस्तो घोषणा गर्ने नेताहरु कुनै बेला अकुत सम्पत्ति कमाएको हुनसक्ने दाबी गर्दै भने, “त्यो भनेको कतैबाट कमाएको छ भन्ने देखाउँछ। यो घमण्ड हो, जनतामा भ्रम छर्ने कुरा हो।”
विप्लवले नेताहरु श्रम र उत्पादनसँग नजोडिएकोप्रति असन्तुष्टि जनाउँदै विदेशी एजेण्डामा सजिलै फस्ने प्रवृत्तिको आलोचना गरे। उनले जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउने काम गर्नुपर्नेमा जोड दिँदै भने, “देशलाई असल बाटोमा हिँडाएर सबै जनताले जीवनमा परिवर्तन आयो भन्ने अवस्था बनाउनुपर्छ।”
उनले अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिँदै मन्त्रीहरुलाई परिणाममुखी काम गर्न आग्रह गरे। साथै सोमबार बेलुका सार्वजनिक भिडियो सन्देशमार्फत विप्लवले कार्की नेतृत्वको सरकारप्रति असन्तुष्टि जनाउँदै “विद्रोह जेन–जीको तर सरकार जेन–एक्सको” भएको टिप्पणीसमेत गरेका छन्।