

काठमाडौं – नेपाल शिक्षक महासंघले काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुन शिक्षकहरूलाई पुनः आग्रह गरेको छ । आन्दोलनलाई निर्णायक बनाउन भन्दै महासंघले देशभरका विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौं आउन आग्रह गरेको हो ।
‘आन्दोलनलाई अन्तिम र निर्णायक बनाउन सबै शिक्षक तथा विद्यालय कर्मचारी आन्दोलनमा जुट्नु अनिवार्य हुन्छ,’ महासंघले गरेको अपिलमा भनिएको छ, ‘त्यसैले देशभरका सबै विद्यालय पूर्ण रूपमा बन्द गरी काठमाडौं आउनुहुन सबै शिक्षक-कर्मचारी साथीहरूमा पुनः अनुरोध गर्दछौँ ।’ शैक्षिक आम हड्ताललाई सफल बनाउन संस्थागत विद्यालयहरू पनि बन्द गरेर साथ दिन महासंघले आग्रह गरेको छ ।
‘आन्दोलनको यो अवधिमा विद्यालय खोल्ने, प्रवेश परीक्षा र ग्रेडवृद्धि परीक्षा सञ्चालन गर्ने, उत्तरपुस्तिका परीक्षण गर्ने, गोष्ठी सेमिनार, शैक्षिक भ्रमणलगातय कुनै पनि क्रियाकलापमा संलग्न नहुन सबैमा आग्रह गरिएको छ,’ महासंघले भनेको छ । साथै कक्षा १२ को परीक्षामा पनि संलग्न नहुने महासंघले शिक्षकहरूलाई आग्रह गरेको छ । ‘आउँदै गरेको कक्षा १२ को परीक्षामा संलग्न नहुन समेत सबै प्रधानाध्यापक, शिक्षक तथा कर्मचारी साथीहरूमा अनुरोध गरिएको छ,’ महासंघले भनेको छ ।