News Portal

  • भारतीय प्रधानमन्त्री  मोदीले ओलीलाई पत्र, यस्तो छ पत्रमा बेहोरा

    सुनौलो पोष्ट २०८१ साउन ४
    १८७ पटक

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई तथा शुभकामनापत्र पठाएका छन् । मोदीले पठाएको अढाई पृष्ठ लामो पत्रमा द्विपक्षीय साझेदारी अझ उचाइमा पुर्‍याउन र दुबै देशका जनताका आकाङ्क्षाहरू पूरा गर्नका लागि ओलीसँग मिलेर काम गर्न तत्पर रहेको उल्लेख गरिएको छ ।

    प्रधानमन्त्री ओलीको सचिवालयले दिएको जानकारी अनुसार भारतले आफ्नो ‘छिमेक पहिले’ नीति अन्तर्गत नेपाललाई आफ्नो विशेष प्राथमिकताको साझेदार मानेको मोदीको पत्रमा उल्लेख गरिएको छ । ‘नेपालमा प्रधानमन्त्री ओलीको नेतृत्व र बहुमूल्य अनुभवले दुई मित्र राष्ट्रबीचको व्यापक सहकार्य सकारात्मक दिशामा अघि बढ्ने र यो दुबै देशका जनताका लागि लाभदायक हुने विश्वास मोदीले व्यक्त गर्नुभएको छ,’ बालुवाटार स्रोतले भन्यो, ‘नेपाललाई भारतको ‘छिमेक पहिले’ नीतिअन्तर्गत विशेष प्राथमिकताको साझेदार रहेको उल्लेख छ । मोदीले आफ्नो सरकार नेपालको आर्थिक समृद्धि र विकास प्राथमिकताको खोजीमा स्थिर साझेदार हुन प्रतिबद्ध रहेको जनाउनुभएको छ ।’

    अढाई पृष्ठ लामो चिठीको पूर्ण विवरण सार्वजनिक नगरिए पनि पारस्परिक लाभको साझेदारीलाई मजबुत पार्दै र नयाँ सहयोगका क्षेत्रहरूको अन्वेषण गर्दै अगाडि बढ्ने तत्परता मोदीले व्यक्त गरेको प्रधानमन्त्री ओलीको सचिवालयले भन्यो । ओली नेपालका ४५औं प्रधानमन्त्री बनेकै दिन मोदीले ट्वीटरमार्फत् बधाइ दिएका थिए । नेपाली पक्षले मोदीको औपचारिक पत्र पनि प्राप्त गरेको छ ।

    प्रतिकृया दिनुहोस्