

ललितपुर, फागुन ३ गते । भारतको नयाँ दिल्लीमा सम्पन्न पहिलो विश्वकप खो खो प्रतियोगिता रजत पदक विजयी भएका वागमति प्रदेशका तीनजना खेलाडी, म्यानेजर, प्रशिक्षकहरु, र सेफ डी मिसनलाई सम्मानित गरेको छ ।
शनिबार ललितपुर खेलकुद परिषदमा ललितपुर खो खो संघले आयोजना गरेको सम्मान कार्यक्रममा परिषदका जिल्ला अध्यक्ष विनोद महर्जनले खेलाडीलगायतलाई सम्मान गर्नुभएको थियो ।
रजत पदक विजेता तथा उत्कृष्ट खेलाडी राजन बल, गणेश विक, अनिशा गोले, म्यनेजर शंकर महर्जन र टोली नेता सुशिलमा व्यञ्जनकार, राष्टिय पुरुष प्रशिक्षक विक्कीराज महर्जन र राष्टिय महिला प्रशिक्षक लक्ष्मीनारायण वैद्यलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।
सम्मान कार्यक्रममा ललितपुर खेलकुद परिषदका अध्यक्ष विनोद महर्जन, नेपाल खो खो संघको केन्द्रीय अध्यक्ष प्रदिप महर्जन र ललितपुर खो खो संघका उपाध्यक्ष मंगलवीर व्यञ्जनकार, सचिव अर्चना महर्जन र जिल्ला अध्यक्ष सरोज महर्जनले खो खो खेलको विकासको लागि राज्यले उचित पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा ललितपुर जिल्ला अन्तर्गत निर्वाचित ललितपुर महानगरपालिका र महालक्ष्मी नगरपालिकाका खो खो संघका पदाधिकारीलाई पनि सम्मान गरिएको थियो ।