

दाङ /नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवम् समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले माओवादीहरु रुपान्तरण भए एकता सम्भव भएको बताएका छन् ।
सोमबार दाङमा आयोजित सहिद ऋषि-राधा स्मृति केन्द्रको दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रमलाई सम्बोधन गर्दै विप्लवले यस्तो बताएका हुन् ।
नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महरा समेत सहभागी उक्त कार्यक्रममा विप्लवले ‘माओवादीहरु एकतावद्ध हुने बेला आएको छ, यो कुरा सत्य हो तर एकताका लागि रुपान्तरण हुनुपर्दछ । पहिले माओवादी नै रुपान्तरण हुनुपर्छ । बिग्रेका हामी हौं। काँग्रेस , एमालेका कुरा छोड्नुस , तिनिहरुलाई पनि रुपान्तरण गर्दै जाउँला तर पहिले माओवादी नै रूपान्तरण हुनुपर्दछ र नयाँ ढंगले एकताको प्रयास गर्नुपर्दछ भन्दै ०६४ को जनमत माओवादीले थेग्न नसकेको बताए।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले – माओवादी पार्टी फुट्यो , तर अब फुट्यो मात्रै भन्ने होइन् , पार्टी त्यसै फुटेको होइन् अब जुट्ने बेला आएको छ । सहिद परिवार , घाइते योद्धा तथा बेपत्ता परिवारले एकताको माग गरिरहेका छन् । रूपान्तरित भएर नयाँ विचार र योजनामा आधारित भएर एकतावद्ध हुने बेला आएको बताए ।’
महासचिव विप्लवले सहिदहरुको सपना पुरा गर्न आफूहरुले एकीकृत जनक्रान्ति मार्फत नेपालमा वैज्ञानिक समाजवादका लागि संघर्ष गरिरहेको उल्लेख गर्दै मुक्ति वा मृत्यु भनेर निशर्त लडेको माओवादी जनयुद्धलाई अपराधिकरण गर्न खोजिएको बताए।
यस्तै कार्यक्रममा नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महराले ढिलोचाडो माओवादी घटकहरूबीच एकता हुने दाबी गरे।
उनले भने, “ढिलोचाँडो माओवादी घटकहरूबीच एकता हुन्छ। अलि ढिलो होला, तर हामी एक ठाउँमा उभिनैपर्छ। देशको राजनीति अहिले निकै अस्थिर अवस्थामा छ, यतिबेला कांग्रेस–एमालेको सरकार भए पनि सरकार नाजुक स्थितिमा छ। यो अवस्थाबाट निकासका लागि माओवादीप्रति जनताको अपेक्षा र आकर्षण दुबै रहेको छ।”
सहिद ऋषि-राधा स्मृति केन्द्र राप्ती गाउँपालिका-५ को दोस्रो साधारणसभा तथा श्रद्धाञ्जली कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता इन्द्रजित थारु , राप्ती गाउँपालिका अध्यक्ष प्रकाश बिष्ट , नेकपाका केन्द्रीय सदस्यहरु सविन सी ,सम्झना सी , पाटन सी , तिलक सी लगायत राजनितिक दल एवम् विभिन्न संघ/संस्थाका प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।