News Portal

  • सक्षम र इमान्दार उम्मेदवार नै सबैको रोजाइको बिषय हुन्छ : वसन्त

    सुनौलो पोष्ट संवाददाता२०८१ मंसिर २५
    १३१ पटक

     

    (नेपाल पत्रकार महासंघको निर्वाचन यहि मंसिर २८ गते हुँदैछ । केन्द्र, प्रदेश र जिल्ला कार्यसमिति छान्नका लागि एकै दिन निर्वाचन हुन लागेको हो । यो निर्वाचनमा देशभरबाट ९ हजार ४ सय ७१ पत्रकार सक्रिय रुपमा सहभागी हुँदैछन ।  प्रेस चौतारी र प्रेस युनियनबाट निर्मला शर्मा नेतृत्वको प्यानल र वामपन्थी पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुको साझा प्यानलबाट रमेश विष्ट नेतृत्वको टिम चुनावी मैदानमा छ । रमेश विष्ट नेतृत्वको टिमबाट समावेशी दलित सचिव पदमा पत्रकार वसन्त विकले प्रतिस्पर्धा गर्दैछन । रमेश विष्ट नेतृत्वको पत्रकारहरुको साझा प्यानलबाट दलित सचिव पदमा प्रतिस्पर्धा गरिरहेका उम्मेदवार पत्रकार वसन्त विकसंग चुनावी प्रतिस्पर्धा र एजेन्डाबारे पत्रकार शेरबहादुर विश्वकर्माले लिएको यो अन्तरवार्ता यहाँ प्रस्तुत गरेका छौ ।)

    तपाई नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा समावेशी दलित सचिव पदमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ, जित्ने आधार के छ ?

    हो, हामी यतिवेला नेपाल पत्रकार महासंघको मंसिर २८ गते हुने निर्वाचनमा जुटेका छौ । यो निर्वाचन सबै श्रमजीवी पत्रकारहरुको लागि आफ्नो अधिकारको फैसला गर्ने निर्वाचन पनि हो । यसमा मैले समावेशी दलित सचिवमा उम्मेदवारी दिएको छु । जित्न सकिन्छ भन्ने आत्मविश्वास छ । किनकि हामी जनताको लागि अहोरात्र दुखकष्ट उठाउने र आवश्यक परे जनताको अधिकारको लागि रगत बगाउने र जेल जीवन विताउने साथीहरुको मोर्चा छ । यसमा सक्षम, इमानदार तथा अनुभवी पत्रकारहरुको टिम छ , त्यसैले जित्न सकिन्छ भन्ने कुराको  पहिलो आधार यहि हो । यसमा विभिन्न वामपन्थी पत्रकार संगठनहरु र स्वतन्त्र पत्रकारहरुको साझा प्यानल छ, यो दोस्रो आधार हो । तेस्रो आधार भनेको यस मोर्चाका एजेण्डाहरु सहि छन । आम श्रमजीवी पत्रकारको हक र अधिकारसंग सम्वन्धि एजेण्डा र प्रतिवद्धताहरु छन । त्यसो भएर जित्न सकिन्छ ।

    अनि तपाईहरुको यो प्यानलले किन युनियनबाट वागी उम्मेदवार उठेका रमेश विष्टलाई अध्यक्ष बनाएको ?

    यो आवश्यकता पनि हो । प्रेस युनियन भित्र पनि लोकतान्त्रिक र प्रगतिशील शक्ति छ । त्यो शक्तिलाई अवसरको कमी छ । जसले गर्दा रमेश विष्टको टिम पनि हामीसंग छ । उहाँ यसअघि  नेपाल पत्रकार महासंघका वरिठ उपाध्यक्ष पनि हुनुहुन्थ्यो ।  उहाँले आफ्नो अध्यक्षमा उम्मेदवार दिनु भयो । युनियनले प्रेस चौतारीको निर्मला शर्मालाई अध्यक्षमा उठाएपछि रशेम विष्टसंग साझा मोर्चा भयो । हामी युनियनको एउटा हिस्सा, प्रेस सेन्टर,जनपत्रकार संगठन, लगायतका ८ संघ / संगठनहरु यसमा छौ ।

    समावेशी दलित सचिव पदमा विजय हुने अरुको भन्दा फरक तपाईको एजेण्डा के हो ?

    म जनपत्रकार संगठनको सचिव हो । हाम्रो संगठनले त महासंघको पूर्नसंरचनाको नै माग गरेको छ । तर पनि त्यसमा प्रयास गर्ने कुरा भइनै रहयो । त्योसंगै महासंघ अलि दलितमैत्री र सहभागीतामूलक हुनुपर्यो भन्ने मेरो मुल एजेण्डा हो । कार्यकारी पोष्टमा अझै औचित्यपूर्ण सहभागिता छैन । समावेशीमा सिमित गरिएको छ । खुल्ला तथा कार्यकारी पदमा पनि दलित सहभागिताको पहल गर्नेछु । मैले विशेषगरी दलित समुदायका मुद्धा उठाउने छु । उनीहरुको महासंघमा सहभागिता र अवसरको वारे पहल गर्नेछु ।

    यत्ति भनेकै आधारमा मतदाताहरुले विश्वास गरी तपाईलाई विजय बनाउलान भन्ने विश्वास छ ?

    हो मलाई पूर्ण विश्वास छ ।  सक्षम र इमान्दार उम्मेदवार सबैको रोजाइको बिषय हुन्छ नै।त्यसैले पत्रकार साथीहरुले मलाई नै छान्नु हुनेछ ।

    दलित समावेशी सचिव पदमा पनि चार /चार जनाको उम्मेदवारी परेको छ, यसलाई मतदाताहरुले को उम्मेदवार सक्षम र पत्रकारिता आन्दोलनमा योगदान गरेको हो भनेर कसरी छुट्याउने ?

    हेर्नुहास् ,हरेकले आफ्नो स्तरको योगदान गरेका होलान । मेरो चाहि फरक छ । मेरो पत्रकारिता पनि फरक तरिकाले यहाँसम्म आएको छ । कर्णाली प्रदेशको कालिकोट जिल्लाबाट करिब दुई दशक बढी पत्रकारिता आन्दोलनमा निरन्तर लागेको छु । पत्रकारिताकै शिलशिलामा २०५७ साल जेठ ३१ गते प्रहरीद्धारा पक्राउ परी अमानवीय यातना भोग्दै बल्ल –बल्ल बाँचेर पत्रकारिता गरिरहेको छु । २०५७/५८ सालदेखि जनादेश तथा सुर्खेत पोष्ट जस्ता राष्ट्रिय पत्रपत्रिकाहरुमा रिपोटिङ् गर्दै आएको थिएँ  । २०६० मा जनयुद्धकालिन समयमा अति दुख कष्ट गर्दै ‘जनगणतन्त्र’ रेडियो (डोके रेडियो) मा काम गरी सेति महाकाली तथा भेरी कर्णाली क्षेत्रमा  महत्वपूर्ण योगदान दिएको छु । गणतन्त्र ल्याउने राजनीतिक महाअभियानमा जनणतन्त्र रेडियोबाट महत्वपूर्ण योगदान दिएको छु ।

    सामन्ती निरंकुश राजतन्त्रको अन्त्यको लागि संचालित जनयुद्ध र जनआन्दोलनमा हजारौ सेना प्रहरीको दमन र चुनौतीहरुबाट जोगिदै युद्ध पत्रकारितामा निरन्तर योगदान दिएर समाज सेवा गरेको छु । शान्ति प्रक्रियापछि २०६४ देखि ०७०  सालमा सुर्खेतमा रेडियो भेक आवाज, हिमाल एफएम लगाएतका संञ्चार माध्यममा काम गरी पत्रकारिता आन्दोलनमा थप योगदान दिएको छु । यस्तै २०६७ देखि ०६८ सालसम्म सरकारी ‘रेडियो नेपाल’ सुर्खेत प्रशारण केन्द्रमा काम गरी समाज रुपान्तरणको लागि सेवा गरेको छु ।  २०७२ देखि ०७३ सालसम्म कालिकोटको रेडियो चंखेलीमा समाचार प्रमुख तथा कार्यक्रम संयोजक भएर काम गर्दै समाज परिवर्तनको लागि महत्वपूर्ण योगदान दिएको छु ।

    २०७५ सालदेखि ज्वाला खवर डट्कम अनलाईनको सम्पादक, ज्वाला खवर त्रैमासिक पत्रिकाको सम्पादक भएर समाज सेवा गरी पत्रकारिता क्षेत्रमा योगदान दिएको छु । २०८० साल भाद्र देखि ०८१ वैसाखसम्म जनपत्रिका डट्कम अनलाईन पत्रिकामा सह–सम्पादकको भूमिकामा रहि काम गरी समाजसेवामा योगदान गरेको छु । विभिन्न सामाजिक संघ संस्था (जस्तैः राष्ट्रिय दलित पत्रकार संघ नेपालको केन्द्रीय सदस्य, जनपत्रकार संगठन नेपालको केन्द्रीय सचिव) पदमा रहेर काम गर्दै पत्रकारिता आन्दोलनमा थप योगदान दिइरहेको छु । त्यसो भएर पनि मलाई देशभरका साथीहरुले एकपटक माया गर्नु हुन्छ भन्ने आसा र अपेक्षा गरेको छु ।

    अनि तपाईहरु दलित सचिव पदमा चार –चार उम्मेदवार हुनु भन्दा एक जनाको नाममा सहमति गरेको भए हुने थियो नि !
    हो तपाईको इच्छा र चाहाना सहि छ ।  रमेश विष्ट नेतृत्वको प्यानलवाट म आफै उम्मेदवार भए, निर्मला शर्माको प्यानलवाट प्रकाश धौलाकेटी हुनु भयो । अरु भिम विश्वकर्मा र सन्तोस वराईली स्वतन्त्रको रुपमा उठनु भएको छ ।  यो लोकतान्त्रिक अभ्यास हो । सहमति हुदा राम्रो हो । नभए चुन्न र चुनिन पाउने अधिकार हो । लोकतान्त्रिक अभ्यासमा जानुपर्छ ।

    तपाईलाई मतदान गर्न चाहने मतदाताहरुले मतदान कसरी गर्ने ?

    यो प्रश्न महत्वपूर्ण छ । मतदान कहाँ गर्ने ? कसरी गर्ने ? भन्ने कुरा पनि विचार पुर्याउनु पर्छ । मेरो लागि मतदान गर्न चाहने साथीहरुले पहिलो कुरा आफ्नो महासंघको सदस्यता कुन जिल्लावाट छ त्यहाँ २८ गते पुग्नु पर्यो । त्यसपछि केन्द्रको मतपत्रको दलित समानुपातिक सचिव पदको शीर्षकको क्र.स. ३ मा बसन्त विक लेखेको लाईनमा ठीक लगाएर मतदान गर्नु पर्यो  ।  यसमा सबै देशभरका पत्रकार साथीहरुलाई एकपटक वसन्त विकलाई मतदान गर्न अपिल गर्दछु ।

    अन्तमा के भन्नु हुन्छ ?

    यो निर्वाचन पत्रकारहरुको लागि मात्र नभएर नेपाली जनताको लागि पनि निकै चासोको विषय बनेको छ । पत्रकार जगत प्रत्यक्ष जनतासंग जोडिएको जगत हो । जनतका मुद्धा उठाउने र जनचेतना दिने पत्रकार मोर्चा हो । त्यसो भएर पनि यसमा जनताको चासो हुनु अन्यथा होईन । यसर्थ देशभरका पत्रकार साथीहरुले आफ्नो उम्मेदवार छान्दा सक्षम र केही गर्न सक्ने छान्नुपर्छ । मुख्यकुरा परिवर्तनका एजेण्डासंग जोडिएको नेता हुनुपर्छ । त्यो अर्थमा हाम्रो रमेश विष्ट नेतृत्वको प्यानल यसमा सक्षम छ । हामी जनताको आसा अपेक्षा र आम पत्रकार साथीहरुको आसा अपेक्षा पुरा गर्न सक्छौ । हामीलाई मतदान गर्नु होला । मेरो आफ्नै पनि समावेशी दलित सचिव पदमा उम्मेदवारी भएकाले यसलाई कतै पनि  नविर्सिएर साथीहरुले यो पटक मलाई एक पटक मतदान गरिदिनु होला । यहि भन्न चाहान्छु ।

    महत्वपूर्ण समयकालागि धन्यवाद ।

    धन्यवाद हजुरलाई पनि !

    प्रतिकृया दिनुहोस्