News Portal

देशभर कालीगढद्वारा विश्वकर्मा पूजा/वास्तु दिवस मनाईदै

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । आश्विन सङ्क्रान्तिका दिन आइपुगेसँगै आज देशभरका कालीगढ र मजदुर वर्गले भगवान् विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस तथा विश्वकर्मा पूजा मनाईदै छ

यस दिन विशेष गरी कारखाना, वर्कसप, निर्माणस्थल र औद्योगिक क्षेत्रहरूमा भगवान् विश्वकर्माको बालुवा वा अन्य वस्तुबाट मूर्ति बनाई पूजा गर्ने परम्परा रहिआएको छ । कलकारखानालाई आकर्षक ढंगले सजाएर मजदुरलाई सहभागी गराइने यो पर्वमा पूजा सम्पन्न गरिएका मूर्तिहरूलाई सुन्दरीजलसहित विभिन्न पवित्रस्थलमा लगी सेलाउने गरिन्छ ।

औजार र उपकरणमा विशेष पूजा

आजको दिन कालीगढहरूले उपयोगमा ल्याइने विभिन्न औजार, मेसिनरी र उपकरणहरूको पूजा आराधना गर्छन् । यसो गरेपछि ती उपकरण लामो समयसम्म टिक्ने, बिग्रन नदिने र राम्रो परिणाम दिने धार्मिक विश्वास रहिआएको छ । सवारीसाधन र इञ्जिन जडान भएका ठूला उपकरणहरूमा समेत पूजा गर्ने परम्परा छ ।

धार्मिक विश्वास र ऐतिहासिक पृष्ठभूमि

धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसहरूले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा एकै रातमै ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई सुरक्षित राखेका थिए भन्ने धार्मिक विश्वास छ । त्यसै समयदेखि विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा सम्मान गर्दै पूजा गर्ने परम्परा बसेको मानिन्छ ।

वास्तुशास्त्रसँगको सम्बन्ध

वास्तुशास्त्री शिव पोखरेलका अनुसार विश्वकर्मा ‘विश्वकर्मा प्रकाश’ नामक वास्तु ग्रन्थका रचनाकार मानिन्छन् । स्थापत्यवेदमा आधारित वास्तुशास्त्रलाई चार उपवेदमध्ये एक मानिन्छ । पछिल्लो समय नेपालमा वास्तु विद्याप्रतिको चासो पुनः बढ्दै गएको छ । सहर, आवास र भवन निर्माणमा वास्तु सिद्धान्तलाई प्रयोग गर्नेहरूको संख्या उल्लेख्य रूपमा बढेको छ ।

मजदुर र प्राविधिकको पर्व

यस पर्वलाई विशेषगरी कालीगढ, मजदुर, प्राविधिक र निर्माण क्षेत्रमा काम गर्नेले आफ्नो पेशा, सीप र औजारप्रतिको श्रद्धा व्यक्त गर्ने अवसरको रूपमा लिने गर्छन् । उनीहरूले विश्वकर्माको पूजा गरी आफ्नो जीवनमा सफलता, सीपमा निखार र श्रमको सम्मान बढ्ने विश्वास राख्छन् ।

यसरी आज नेपालका विभिन्न स्थानमा विश्वकर्मा पूजा र वास्तु दिवस उत्साहपूर्वक मनाईन्छ

प्रतिकृया दिनुहोस्

ताजा भिडियो