
काठमाडौ । जेन–जीले २३ भदौदेखि सुरु गरेको भ्रष्टाचारविरोधी आन्दोलनप्रति विभिन्न दलित मोर्चा/संगठनहरूले संयुक्त प्रेस वक्तव्य जारी गर्दै आन्दोलनमा सहादत प्राप्त गरेका युवाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् । उनीहरूले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै शोकसन्तप्त परिवारजनलाई समवेदना प्रकट गरेका छन् ।
संयुक्त वक्तव्यमा भनिएको छ, “विगत लामो समयदेखि असमानता, कुशासन, भ्रष्टाचार, निरङ्कुशता लगायतका समस्याले मुलुक आक्रान्त छ । यो आन्दोलन यिनै समस्याविरुद्धको न्यायपूर्ण संघर्ष हो ।”
दलित संगठनहरूले दोस्रो दिनदेखि देखापरेका केही आक्रमण र नाशपाटीका घटनामाथि चिन्ता व्यक्त गर्दै जेन–जी आन्दोलनमा “पश्चगामी घुसपैठ भएको आशंका” रहेको उल्लेख गरेका छन् । तर, उनीहरूका अनुसार यो परिस्थितिको मूल कारण विगत तीन दशकदेखि संसदवादी दलहरूले जनतामाथि गरेको “जनघात, राष्ट्रघात र संसदीय पुँजीवादी व्यवस्थाको दलाल चरित्र” हो ।
नेपाली सेनाको मुख्यालयमा आन्दोलनकारी र सेनाप्रमुखबीच वार्ता भइरहेको समाचारबारे समेत वक्तव्यमा प्रतिक्रिया दिँदै संगठनहरूले भनेका छन्, “यथास्थितिमा रहन वा पश्चगामी बाटो रोज्न सकिँदैन, अब अग्रगमन मात्र विकल्प हो ।”
दलित संगठनहरूले जेन–जी र आम जनताले अघि सारेका न्यायपूर्ण माग सम्बोधन गर्न सर्वपक्षीय संवादमार्फत सार्वभौम अन्तरिम संयुक्त सरकार गठन र अग्रगामी संविधान निर्माणको प्रक्रियामा अघि बढ्न प्रगतिशील, देशभक्त र अग्रगमनकारी शक्तिलाई आह्वान गरेका छन् ।
संयुक्त वक्तव्यमा श्रमिक समुदाय मोर्चा नेपालका अध्यक्ष रामलाल सी, क्रान्तिकारी दलित मुक्ति मोर्चाका संयोजक टेक बहादुर विश्वकर्मा, एकीकृत दलित मुक्ति मोर्चाका संयोजक कृष्ण सेवा, जात व्यवस्था उन्मूलन मोर्चाकी महासचिव रुपा सुनार र संयुक्त दलित अधिकार मञ्च नेपालका अध्यक्ष सुजन साशंकरको संयुक्त हस्ताक्षर रहेका छ।