News Portal

प्रचण्ड–जनार्दन वाकयुद्ध चर्किँदै, विराटनगरमा प्रचण्डको कडा प्रहार

सुनौलोपोष्ट संवाददाता

विराटनगर । नेकपा (माओवादी केन्द्र) भित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपमहासचिव जनार्दन शर्मा ‘प्रभाकर’बीचको वाकयुद्ध थप चर्किएको छ।

पछिल्लो समय निरन्तर चुनौती दिइरहेका जनार्दनप्रति प्रचण्डले फेरि कडा प्रहार गरेका छन्। बिहीबार बिहान कोशी प्रदेश कमिटी सचिवालय बैठकमा सहभागी हुन विराटनगर आइपुगेका प्रचण्डले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै भने, “एक जना प्रभाकरले नपत्याएर यो पार्टी आन्दोलन, यो इतिहास रोकिँदैन। स्थायी समितिको बैठकले पनि यसलाई प्रस्ट पारेको छ।”

पत्रकारले ‘आफ्नैले पत्याएका छैनन् नि’ भन्ने प्रश्न गर्दा प्रचण्डले यो टिप्पणी गरेका हुन्। उनले पत्रकारमाथि विवाद चर्काउने खालका प्रश्न गर्ने गरेको गुनासोसमेत पोखे।

यस्तै, पार्टीभित्र स्वार्थ समूह रहेको भन्ने आफ्ना अघिल्ला भनाइलाई स्पष्ट पार्दै उनले पुनः जनार्दनतिरै निशाना साधे। “स्वार्थ समूह भनेको पार्टीको लाइन, विधि र लिडरसिपभन्दा बाहिर स्वार्थमा केन्द्रित भएर मिटिङ गर्ने र पार्टीविरुद्ध गतिविधि गर्नेहरुलाई भनिएको हो,” प्रचण्डको भनाइ थियो।

उपमहासचिव शर्माले प्रचण्डलाई पछिल्ला दिनमा बारम्बार चुनौती दिँदै आएका छन्। केही दिनअघि उनले “शेषनागले पृथ्वी थामेजस्तो भ्रम कसैले पनि पाल्न हुँदैन” भन्दै प्रचण्डलाई प्रत्यक्ष जवाफ दिएका थिए।

लिपुलेक विवादबारे प्रचण्डको भनाइ

त्यसैगरी प्रचण्डले लिपुलेक विवादबारे पनि प्रतिक्रिया जनाएका छन्। उनले पूर्व प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको भावी कदम हेर्नुपर्ने बताएका छन्।

भारत भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगैको प्रेस ब्रिफिङमा सिमाना मुद्दा उठाएको स्मरण गर्दै प्रचण्डले भने, “मोदीले संवादमार्फत समाधान हुन्छ भनेर प्रतिबद्धता जनाउनुभएको थियो। अहिलेको सरकारले के गर्छ हेर्नुपर्नेछ।”

प्रचण्डले छिमेकी भारत–चीनसँगको सम्बन्ध सीमा विवाद हल नगरी सुमधुर बन्न नसक्ने भन्दै संवादमार्फतै समाधान खोज्नुपर्नेमा जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो