

काठमाडौँ /नेकपा माओवादी केन्द्रले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको मुद्दा लिएर जनजागरण अभियान सञ्चालन गर्ने भएको छ।
फागुन १२ बाट सुरु हुने ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’ सञ्चालनको क्रममा उक्त दुई एजेन्डालाई प्रमुख बिषय बनाउने आज आयोजित पत्रकार सम्मेलन मार्फत जानकारी गरिएको हो।
कोशी प्रदेशको झापाबाट सुरू हुने सो अभियान मोरङ र सुनसरी, मधेसको सर्लाही, रौतहट, बारा र पर्सा, बागमतीको चितवन, गण्डकीको नवलपुर, लुम्बिनीको परासी, रूपन्देही, कपिलवस्तु, दाङ, बाँके र बर्दिया तथा सुदूरपश्चिमको कैलाली र कञ्चनपुर पुगेर सकिनेछ।
अभियानका क्रममा संविधान संशोधनका नाममा महिला, आदिवासी जनजाति, मधेशी, थारू, मुस्लिमलगायत समुदायले प्राप्त गरेको समानुपातिक प्रतिनिधित्विको अधिकार थप बलियो बनाउन उत्पीडित समुदायको पक्षमा दृढतापूर्वक उभिने प्रण गरिने उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए।
“अब संविधान संशोधन गरेर नेपाली विशेषतासहितको कार्यकारी राष्ट्रपति मोडेलमा जानुपर्छ”, उनले भने, “भ्रष्टाचारको मूल कारक निर्वाचन प्रणाली हो, पूर्ण समानुपातिक निर्वाचन प्रणालीबाट संसद् र विज्ञमध्येबाट मन्त्रिपरिषद् गठन हुनुपर्छ।”