News Portal

सर्वोच्च अदालत आइतबारदेखि बन्दीप्रत्यक्षीकरण र नियमित मुद्दा सुन्ने

सुनौलोपोष्ट संवाददाता

काठमाडौं । सर्वोच्च अदालतले आगामी आइतबार (२९ भदौ)देखि बन्दीप्रत्यक्षीकरणसहित अन्य नियमित मुद्दाहरूको सुनुवाइ पुनः सुरु गर्ने भएको छ। बिहीबार बसेको आकस्मिक फूलकोर्ट बैठकले आइतबारदेखि मुद्दा दर्ता र सुनुवाइ प्रक्रिया सञ्चालन गर्ने निर्णय गरेको हो।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले विज्ञप्ति जारी गर्दै अदालतका मिसिल कागजात, भौतिक संरचना तथा स्रोत साधन जोगाउन खटिएका न्यायाधीश, कर्मचारी, कानुन व्यवसायी, विद्यार्थी, सुरक्षाकर्मी र सर्वसाधारणप्रति आभार प्रकट गरेका छन्।

२३ र २४ भदौमा भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै राउतले घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन्। उनले सर्वोच्चसहित देशभरका अदालतमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटले भवन, उपकरण, सवारीसाधन र नागरिकका संवेदनशील दस्तावेजमा गम्भीर क्षति पुर्‍याएको उल्लेख गरेका छन्।

विज्ञप्तिमा नेपालको न्यायिक इतिहासका महत्वपूर्ण दस्तावेज करिब–करिब नष्ट भएको पीडा व्यक्त गरिएको छ। साथै, संविधानले न्यायपालिकालाई सुम्पिएको दायित्वप्रति दृढ रहँदै विधिको शासन, संविधानवाद, मौलिक हक र न्याय प्राप्त गर्ने नागरिकको अधिकार अक्षुण्ण राखिने प्रतिबद्धता गरिएको छ।

‘जे जस्तो कठिन परिस्थिति आए पनि आम नागरिकको न्यायप्रतिको विश्वास जोगाउन अदालत अविचलित रहनेछ,’ विज्ञप्तिमा भनिएको छ।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो