
काठमाडौँ । विद्यालय शिक्षा सम्बन्धी विधेयक–२०८० माथि छलफल गर्न संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज बस्दैछ। तर, विधेयकका केही प्रावधानप्रति निजी विद्यालय सञ्चालक संस्था नेशनल प्याब्सन, प्याब्सन र शिक्षक महासंघले असहमति जनाउँदै आन्दोलनको चेतावनी दिएका छन्।
प्याब्सन र नेशनल प्याब्सनले ५ बुँदे माग अघि सार्दै ‘पूर्ण छात्रवृत्ति’ शब्द खारेज गर्नुपर्ने, विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधान हटाउनुपर्ने, पोसाक तथा स्टेशनरी उपलब्ध गराउने व्यवस्था खारेज गर्नुपर्ने लगायतका माग गरेका छन्।
यही मागसहित आज बिहान ११ देखि १ बजेसम्म माइतीघर मण्डलादेखि नयाँबानेश्वर चोकसम्म प्रिन्सिपलहरूले ब्यानरसहित र्याली र कोणसभा गर्ने कार्यक्रम तय भएको छ। यस्तै, भदौ ६ गते देशभर स्कुल बस उतारेर नगर परिक्रमा गर्ने र काठमाडौँको चक्रपथ वरिपरि कालो झन्डा/ब्यानरसहित र्याली गर्ने पनि घोषणा गरिएको छ।
माग सम्बोधन नभए भदौ ८ गतेदेखि निर्णायक आन्दोलनमा जाने चेतावनी उनीहरूले दिएका छन्। यता शिक्षक महासंघले पनि विधेयकमा समावेश गर्न लागिएको कतिपय प्रावधानप्रति असहमति जनाउँदै आन्दोलनको तयारी थालेको छ। यस्तो अवस्थामा आज बस्न लागेको शिक्षा समितिको बैठकलाई चासोपूर्वक हेरिएको छ।