News Portal

कस्तो नाम  होला निर्वाचन आयोगमा दर्ता विप्लव नेतृत्वको  नेकपा

सुनौलोपोष्ट संवाददाता२०८२ बैशाख २८
1kShares

काठमाडौँ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले पार्टीको नाम कम्युनिस्ट पार्टी नेपाल राख्ने सम्बन्धमा छलफल केन्द्रित गरेको छ । निर्वाचन आयोगमा दल दर्ता गर्ने तयारीमा रहेको नेकपाले नामबारे छलफल केन्द्रित गरेको हो ।
चैत १८ गते बसेको पार्टीको पोलिटब्युरो बैठकले आयोगमा दल दर्ता गर्ने  निर्णय गरेको थियो । दल दर्ता प्रक्रियालाई  व्यवस्थित बनाउन स्थायी समिति सदस्य कर्णजित बुढाथोकीको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको थियो । सदस्यहरूमा चिरञ्जीवी ढकाल र कपिल पोखरेल रहेका छन् ।

नेकपा लोकनारायण सुवेदीको नाममा आयोगमा दर्ता भएकाले पार्टीको नाम परिवर्तन गरी आयोगमा दर्ता गर्न महासचिव नेत्रविक्रम चन्द विप्लवले जेठको दोस्रो साता केन्द्रीय समिति बैठक बोलाएका छन् । बैठकले नाम अनुमोदन गरेपछि आयोगमा दर्ता गर्न जाने कार्यदलका संयोजक बुढाथोकीले बताए । यद्यपि दलको नाम सम्बन्धमा विभिन्न नाम प्रस्ताव आए पनि निष्कर्षमा नपुगेको उनले बताए ।

‘नेकपा पहिले नै अर्काको नाममा आयोगमा दर्ता भएकाले संवैधानिक मान्यता पाउँदैन । विकल्पमा कम्युनिस्ट पार्टी नेपाल पनि हुनसक्छ । आयोगमै दर्ता भएको नेकपा (माओवादी समाजवादी) पनि हुनसक्छ । तर सहमति जुटेको छैन । केन्द्रीय समिति बैठकले अब टुङ्गो लगाउँछ । त्यसपछि हामी दल दर्ताका लागि आयोगमा जान्छौँ’, बुढाथोकीले भने ।

गत मङ्सिरको दोस्रो साता कपिलवस्तुमा बसेको केन्द्रीय समिति बैठकले २०८४ को निर्वाचनमा भाग लिने निर्णय गरेको थियो ।

प्रतिकृया दिनुहोस्