News Portal

नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिनुपर्छ : राष्ट्रपति पौडेल

सुनौलोपोष्ट संवाददाता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवस (राष्ट्रिय दिवस) २०८२ को अवसरमा शुभकामना सन्देश जारी गर्दै नेपाली नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति दिलाउनुपर्नेमा जोड दिएका छन्। उनले नेपालको संविधानलाई सामाजिक न्याय र समानतामूलक समाज निर्माण गर्ने आधारशिला ठहर गर्दै यसको मर्मलाई व्यवहारमा उतार्न सबै तह, स्तर र जिम्मेवार पक्ष सचेत हुनुपर्ने बताए।

राष्ट्रपति पौडेलले नेपाली जनताको दीर्घ संघर्ष र बलिदानको फलस्वरूप २०७२ साल असोज ३ गते संविधान जारी भई संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको ऐतिहासिक उपलब्धि हासिल भएको स्मरण गरे। उनले संविधान दिवसले जनतालाई प्राप्त अधिकार र कर्तव्यको बोध मात्र गराउने नभई आगामी मार्गचित्रको प्रेरणा दिने दिन पनि भएको उल्लेख गरे।

राष्ट्रपतिले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवादमुखी अर्थतन्त्र निर्माण संविधानको स्पष्ट लक्ष्य भएको बताए।
उनले भने, “संविधानले प्रत्याभूत गरेको सेवा र सुविधाबाट सबै नागरिकलाई समान पहुँच उपलब्ध गराउँदै सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्छ।”

उनको भनाइमा राज्यका सेवाहरूको समान पहुँचले मात्र नागरिकबीच विश्वास र आत्मीयताको संस्कार मजबुत हुँदै देशलाई स्थायी शान्ति, सुशासन र समृद्धिको बाटोतर्फ डोहोऱ्याउन सक्छ।

सन्देशमा राष्ट्रपति पौडेलले नेपालजस्तो बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई संविधानले राष्ट्रिय एकताको सूत्रमा बाँधेको बताए। भौगोलिक विषमता, भाषिक विविधता र सांस्कृतिक बहुलतालाई संविधानले संरक्षण गर्दै समान अधिकारको प्रत्याभूति दिलाएको उनको भनाइ थियो।

उनले हिमाल, पहाड र तराईको अद्वितीय भौगोलिक संरचना, जातीय र सांस्कृतिक विशेषता नेपाली समाजको धरोहर भएको भन्दै संविधानले त्यसलाई सम्मान र संरक्षण गरेको उल्लेख गरे।

राष्ट्रपतिले संविधान दिवसलाई आत्मावलोकन गर्ने, जनताको बलिदानलाई स्मरण गर्ने र संविधानको मर्मलाई आचरणमा रुपान्तरण गर्ने अवसरको रूपमा लिन सबै नेपालीलाई आह्वान गरे।
उनले भने, “आजको दिन संविधानको मर्म र भावनालाई व्यवहारमा उतार्ने दृढता र सामूहिक प्रतिबद्धता प्रकट गर्ने प्रेरणा हो। यस दिवसले हामी सबैलाई राष्ट्रिय एकता, सहकार्य र सहअस्तित्वको बाटोतर्फ उन्मुख गराउनेछ।”

सन्देशको अन्त्यमा राष्ट्रपति पौडेलले संविधान दिवसले देशलाई अझ स्थायी शान्ति, सुशासन, विकास र समृद्धिको मार्गतर्फ अग्रसर गराउने विश्वास व्यक्त गर्दै सबै नेपालीमा एकता, उत्साह र प्रेरणा जगाउने शुभकामना व्यक्त गरेका छन्।

प्रतिकृया दिनुहोस्

ताजा भिडियो