काठमाडौं – असोज १० गतेदेखि शुरु हुने नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)को २३ औँ राष्ट्रिय सम्मेलनबाट संगठनको नेतृत्व लिन डेढ दर्जन विद्यार्थी नेता प्रतिस्पर्धाको मैदानमा उत्रिने भएका छन् ।
काठमाडौंमा हुन लागेको सम्मेलनबाट अध्यक्ष बन्नका लागि १७ जना उपाध्यक्ष र एक महासचिव सहित १८ जना प्रतिस्पर्धामा छन् । संगठनका उपाध्यक्ष राजकुमार लिम्बु पारिवारिक कामले मुलुक बाहिर रहेको र कल्पना मियाँ प्रतिनिधि सभाको सांसद भइसकेकाले दुई जना भने अध्यक्षको प्रतिस्पर्धामा छैनन् ।
संगठनका उपाध्यक्ष जिपी मैनाली, इन्द्र भुसाल, मिलन एमसी, तुकमान महरा, लक्ष्मी जोशी, प्रविणा अधिकारी, मदन भुल, पवन कार्की, नरेश रेग्मी, सूर्यनारायण साह, नारायण खनाल, गजेन्द्र देव, क्षितिज सापकोटा, मदन भट्टराई, अमरंजंश शाही, केशव रावल र महासचिव दीपेश पुन अध्यक्षका लागि प्रतिस्पर्धामा छन् । अखिल (क्रान्तिकारी)का २३ औँ राष्ट्रिय सम्मेलनले ३३ पदाधिकारी सहित २४३ केन्द्रीय समिति र तीन आयोगका पदाधिकारी समेत निर्वाचित गर्नेछ । यस पटकको सम्मेलनले प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी तथा सदस्य निर्वाचित गर्ने तयारी रहेको छ ।