सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ २२

काठमाडौ / अर्बपति एलन मस्कले नयाँ राजनीतिक दल गठनको घोषणा गर्नुभएको छ । सामाजिक सञ्जाल ‘एक्स’मा पोस्ट गर्दै उहाँले ‘द अमेरिका पार्टी’को औपचारिक घोषणा गर्नुभएको हो । पार्टीको पूर्ण घोषणापत्र भने सार्वजनिक भइसकेको छैन ।
राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको सम्बन्ध बिग्रेपछि हालै ट्रम्प प्रशासन (सरकारी दक्षता विभाग) बाट बाहिरिएका मस्कले नयाँ राजनीतिक दलको घोषणा गर्नुभएको हो । हालै अमेरिकी संसद् अर्थात् कङ्ग्रेसले कर तथा खर्चसम्बन्धी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको विस्तृत विधेयकलाई पारित गरेको थियो ।
यसमा मस्कको फरक धारणा समेत सार्वजनिक भएको थियो । गत शुक्रबार ट्रम्पले कर कटौती र खर्च वृद्धिसम्बन्धी ‘बिग ब्युटिफुल बिल’ मा हस्ताक्षर गरेको पृष्ठभूमिमा मस्कले नयाँ दलसम्बन्धी घोषणा गरेको बीबीसीले जनाएको छ ।
