
काठमाडौं – कर्णाली प्रदेशको हुम्ला जिल्ला राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ । कर्णाली करिडोर अन्तर्गत खार्पुनाथ गाउँपालिका–५ को च्वाखोला नदीमा बेलिब्रिज निर्माण भएसँगै हुम्ला औपचारिकरुपमा राष्ट्रिय सडक सञ्जालसँग जोडिएको हो ।
सडक पहुँचका लागि हुम्लाको लाइफलाइन मानिएको उक्त बेलिब्रिजको आइतबार एक कार्यक्रमका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका छन् । हालसम्म राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला मात्रै एउटा जिल्ला थियो ।
२६ वर्षदेखि काम भइरहे पनि अहिलेसम्म औपचारिक रुपमा राष्ट्रिय सडक सदरमुकाम सिमकोटमा जोडिएको थिएन । बाँकेको जमुनियाबाट हिल्सासम्म यो सडकको दूरी ५१० किलोमिटर रहेको छ । यसले कर्णालीलाई उत्तर र दक्षिण अन्तरदेशीय सडक सञ्जालमा जोड्ने छ । यसपछि वैदेशिक व्यापारलाई पनि सहयोग पुग्ने प्रधानमन्त्री ओलीको विश्वास छ ।
योसँगै सडक नजोडिएको एउटामात्रै हुम्ला जिल्लामा पनि राष्ट्रिय सडक सञ्जाल पुगेको छ । प्रधानमन्त्री शर्मा ओेलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल पनि सँगै हुम्ला पुगेका थिए ।
