News Portal

काठमाडौं महानगरको २५ अर्ब ७६ करोडको बजेट, ढिलाईमा उपप्रमुख डङ्गोलको क्षमायाचना

सुनौलोपोष्ट संवाददाता२०८२ आषाढ २९
75Shares

काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। उपप्रमुख सुनिता डङ्गोलले आइतबार आयोजित १७औं नगरसभामा नीति, कार्यक्रमसहितको बजेट प्रस्तुत गरेकी हुन्।

उपप्रमुख डङ्गोलले समयमै नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गर्न नसकिएको भन्दै सार्वजनिक रुपमा क्षमायाचना गरिन्। ‘समयमै आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेट सभामा पेश गर्न नसकेकोमा मेरो व्यक्तिगत तर्फबाट र नगरसभाका सदस्यज्यूहरुको तर्फबाट महानगरवासी र सरोकारवाला निकायसमक्ष क्षमायाचना गर्दछौं,’ उनले भनिन्।

उनले विगतका दिनमा केही तीता अनुभव भए पनि अहिले सबै कुरा समाधानतर्फ उन्मुख भएको उल्लेख गर्दै महानगर अहिले एकढिक्का भएको दाबी गरिन्।

उनका अनुसार आगामी वर्षको बजेटमध्ये २५ अर्ब ११ करोड ४३ लाख ४१ हजार रुपैयाँ सन्चित कोषमार्फत जुट्ने देखिएको छ। तीमध्ये २० अर्ब १२ करोड ६४ लाख रुपैयाँ महानगरको आन्तरिक आय र बैंक मौज्दातबाट व्यवस्थापन गरिने अनुमान गरिएको छ।

स्मरण रहोस्, चालू आर्थिक वर्ष २०८१/०८२ मा काठमाडौं महानगरको बजेट २४ अर्ब ९० करोड ६३ लाख २५ हजार रुपैयाँ थियो। आगामी वर्षको बजेटमा के-कस्ता प्राथमिकता र कार्यक्रम समावेश गरिएको छ भन्ने विस्तृत विवरण भने थप छलफलपछि सार्वजनिक गरिने महानगरले जनाएको छ।

प्रतिकृया दिनुहोस्