काठमाडौँ – विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बिचार संश्लेषण गर्न विशेष महाधिवेश गर्ने निर्णय सार्वजनिक गरेको २ दिनपनि बित्न नपाउँदै नेकपा (माओवादी केन्द्र) भित्र पनि विशेष महाधिवेशन बोलाउनुपर्ने माग भएको छ । पार्टी निर्माण, विचारको संश्लेषण र विधान अधिवेशनले अनुमोदन गरेको संगठनिक प्रतिवेदन कार्यान्वयन गर्न विशेष महाधिवेशनमा जानुपर्ने नेताहरूले जोड दिएका छन् ।
असोज पहिलो हप्ता सम्पन्न प्रदेशस्तरीय (केन्द्रीय सदस्य र प्रदेश पदाधिकारी)को संयुक्त परामर्श समिति बैठकले नियमित महाधिवेशन भन्दा विशेष महाधिवेशनमा गएर आन्तरिक समस्या समाधान गर्नुपर्ने सुझाव नेतृत्वलाई दिएको थियो । केही नेताले नियमित महाधिवेशन नजिकिइसकेकाले विशेष महाधिवेशनमा जानु उपयुक्त नहुने सुझाव दिएका थिए ।
परामर्श समिति बैठकबाट आएका राय सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्ने अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आश्वासन दिलाएका थिए । तर विशेष महाधिवेशनमा जाने विषय नेतृत्व अलमलमा देखिएपछि आइतबारबाट सुरु हुने केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति टुङ्गो लगाउनुपर्नेमा नेताहरू पुगेको बुझिएको छ ।
बैठकमा पेस हुने एजेन्डा तय गर्नका लागि आजदेखि तीन दिनसम्म अध्यक्ष प्रचण्डले स्थायी समिति बैठक बोलाइएका छन् । विशेष महाधिवेशन गर्ने कि नियमित महाधिवेशन गर्ने भन्नेमा यही बैठकमा छलफल हुन सक्ने सचिव देवेन्द्र पौडेलले बताएका छन् ।
विशेष महाधिवेशन बोलाउने निर्णय गत वर्ष साउनमा बसेको केन्द्रीय समिति बैठकले नै निर्णय गरेपनि यो बैठकमा विचारको संश्लेषणलाई समेत एजेन्डाकै रूपमा ल्याउन खोजिनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
विप्लव नेतृत्वको नेकपाले अघि सारेको एकीकृत जनक्रान्ति मार्फत नेपाली विशेषताको समाजवाद हुँदै वैज्ञानिक समाजवादमा जाने एजेण्डालाई स्थान दिएर समान बिचार सहितको पार्टी एकता गर्ने बाटो खुल्नसक्ने राजनीतिक वृतमा चर्चा छ।