News Portal

  • आज माओवादी साउनको भेलजस्तै भएर सबैतिर फैलिएर पस्या छ: बिप्लव

    सुनौलो पोष्ट संवाददाता२०८१ पौष ११
    330Shares

     

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्दले माओवादी फुट्ने क्रम नरोकिने बताएका छन्।

    माओ दिवसको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै महासचिव चन्दले माओवादी विभाजनलाई साउने भेलसँग तुलना गरे। उनले माओवादी फुटेर १९ समूह भइसकेको उल्लेख गर्दै अब यो क्रम कहाँसम्म पुग्ने हो निश्चित नभएको बताए।

    विप्लवले माओवादी नेताहरूको मन अशान्त र दिमाग अस्थिर भएको टिप्पणी गर्दै माओवादीले मुलुकमा विभिन्न तरंग ल्याउने गरेको बताए। उनका अनुसार माओवादीको विस्तार धेरै भए पनि सम्हालिन नसकेर ठाउँ–ठाउँमा विभाजित भएको छ।

    महासचिव विप्लवले भने, ‘माओवादी लड्दै–लड्दै धेरै बढे पनि अटाएन। छल्किएर यताउता पोखियो। साउने भेलजस्तै कुलोमा पनि पस्या छ, झाडीमा पनि पस्या छ। बाटोमा पनि हिँड्या छ। अहिले माओवादी नभएको ठाउँ छैन। तर, फुट्ने मामिलामा हामी जतिको फुट्ने अरु को होला र ?’

    उनले माओवादी फुटेर १९ समूह भइसकेको बताउँदै यो संख्या थपिने संकेत गरे। उनका अनुसार फुट्ने क्रम सकिएपछि मात्र माओवादी केन्द्रित हुन सक्छ। ‘कतिसम्म फुट्यो ? सकियो कि सकिएन ? हिसाब हुँदैछ। माओवादीका घटकहरूमा यसै विषयमा बहस चलिरहन्छ,’ उनले थपे।

    विप्लवले माओवादी नेताहरूको मन शान्त नभएको र त्यसैकारण दिमाग स्थिर नदेखिएको टिप्पणी गरे। उनका अनुसार, समाजमा माओवादीका विभिन्न पक्षबारे अनेकौं तर्कहरू भइरहेका छन्। ‘माओवादीहरू शान्त भएर बस्ने स्वभावका छैनन्,’ उनले भने।

    प्रतिकृया दिनुहोस्