काठमाडौं । माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहालले एमालेसँग विगतमा सहकार्य गर्नु गलत भएको बताएका छन् ।
वाग्मती प्रदेशका केन्द्रीय सदस्य र पदाधिकारीसँगको परामर्श बैठकमा बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दाहालले भने, ‘मित्रहरूले केपी शर्मा ओलीको जिम्मा लिन्छौं, वामहरू मिलौं भनेपछि पत्याएँ । तर एमालेसँग गठबन्धन गर्नु गल्ती भएछ ।’
ओलीले धोका दिएको उल्लेख गर्दै उनले वामपन्थी एकताको विषय छाड्न नहुने बताए । ‘मुद्दा मिल्नेसँग मोर्चा बनाएर जाने हो । विचार मिल्नेसँग पार्टी एकता गर्ने हो,’ उनले भने । आम निर्वाचनपछि कांग्रेसले प्रधानमन्त्री पदमा धोका दिएपछि एमालेसँग गएको र त्यही कारणले पछिल्लो समय कांग्रेसले एमालेबीच गठबन्धन भएको उनको बुझाइ छ । ‘फेरि राम्रै नियतले एमालेसँग गठबन्धन बन्यो । तर त्यो धोका भयो,’ उनले भने ।
माओवादी आफैं सरकार बनाउन नलाग्ने उल्लेख गर्दै सरकारले माओवादी खोज्नुपर्ने दाहालले बताए । ‘सरकारमा छैनौं तर सदनमा छौं । तत्काल सरकारमा जानतिर लाग्न हुँदैन । तर अब जानै हुँदैन भन्ने कुरा पनि सही होइन,’ दाहालको भनाइ थियो, ‘हाल सरकारमा जाने हतार गर्दैनौ, सरकार हामीसँग आउनुपर्छ ।’