समाचार

साइकल चढेरै काठमाडौंबाट गौर पुगे

लकडाउनका कारण सरकारले सवारी सञ्चालनमा रोक लगाएपछि दुई भारतीय साइकलमा यात्रा गरेरै काठमाडौंबाट गौर पुगेका छन् ।कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण तथा संक्रमण फैलन नदिन सरकारले गरेको लकडाउनका कारण सवारी पूर्ण रुपमा बन्द भएपछि उनीहरु वैकल्पिक साधनबाट आफ्नो घरतर्फ फर्किएका हुन् ।

लकडाउनकै कारण बजार र यातायातका साधन बन्द भएपछि धेरै काठमाडौंमा बसोबास गर्नेहरु घर जान पाएका छैनन् । सरकारले अघिल्लो दिन घोषणा गरेर भोलिपल्टैदेखि लकडाउन गरेपछि जो जहाँ छन्, त्यही रोकिए ।

काठमाडौंमा रहँदा साइकलमा फलफूल बिक्री गरेर आएका भारत बिहारको मोतिहारी जिल्लाका बेतौनाका राजकिशोर साह र सञ्जय साह पनि यहीँ रोकिए । तर, लकडाउन लम्बिएपछि उनीहरुलाई हातमुख जोर्नै गाह्रो हुन थाल्यो ।

त्यसैले फलफूल बेच्न प्रयोग गर्दै आएको साइकलमै उनीहरुले घरतर्फको यात्रा तय गरेका हुन् ।

राजकिशोर साहले भने, ‘हामी दैनिक काम गरेर खाने मान्छेसँग पैसा नभएपछि पसलको साहुजीले उधारो दिएनन् । डेरामा भएको चिउरा र दालमोठ बोकेर निस्कियौं ।’

आइतबार बिहान ३ बजे बल्खुबाट हिँडेका उनीहरु मंगलबार साँझ ६ बजे गौरको वीपी चोक आइपुगेका थिए ।

उनीहरुले घर फर्किन बल्खुबाट दक्षिणकाली हुँदै हेटौंडा जाने सडक रोजेका थिए । उकालोमा साइकलले नतानेपछि गुडाएर पैदल हिँडे । पथलैया आइपुगेपछि प्रहरीले ट्रकमा चढाएर चन्द्रनिगाहपुरसम्म पठाइदिए । साहले भने ‘साइकल चलाएर दुबै खुट्टा एकदमै दुखेको छ । नदुख्ने औषधि खाएर हिँडिरहेका छौं ।’

गौरको विपी चोकमा भने उनीहरुलाई सुरक्षाकर्मीले रोकेका छन् । र, सीमा नाकामा भारतीय सुरक्षाकर्मीले जान नदिने बताएपछि निराश भएका छन् ।

Related Articles

Back to top button
Close