
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का संसदीय दलका नेता तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज सोमबार प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै छन्।
दिउँसो १ बजे बस्ने बैठकमा प्रचण्डले प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतमा समसामयिक राजनीतिक अवस्था, सरकारको कार्यशैली, र संसदीय गतिरोधलगायत विषयमा धारणा राख्ने तयारी गरिएको छ।
पार्टीले प्रचण्डको सम्बोधनलाई विशेष महत्व दिँदै आफ्ना सबै सांसदहरूलाई बैठकमा अनिवार्य रूपमा उपस्थित हुन निर्देशन दिएको छ। माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सूचित गर्दै भनेका छन्, “असार ३० गते प्रमुख विपक्षी दल नेताको हैसियतले हाम्रो दल नेता तथा पार्टी अध्यक्ष प्रचण्डज्यूले प्रतिनिधिसभामा बोल्दै हुनुहुन्छ।”
हाल प्रतिनिधिसभामा माओवादी केन्द्रका ३२ जना सांसद छन्। पार्टी नेतृत्वको सम्बोधनप्रति गम्भीर ध्यान दिँदै संसदमा एकजुट उपस्थिति देखाउन निर्देशन दिइएको हो।
