
बर्दिया । युवाहरु रोजगारीको लागि विदेशिनुपर्ने दिन सकिएको छ भन्ने उदाहरण बर्दिया राजापुर–४ तिनकुने बजारमा खोलिएको निधि अर्गानिक भान्सा घर बनेको छ। कालिकोट जिल्लाका पुष्पराज धामीले खोलेको अर्गानिक भान्सा घर धेरैको रोजाइमा परेको छ।
कालिकोट र जुम्ला जस्ता उच्च पहाडी जिल्लामा उत्पादन हुने शुद्ध अर्गानिक कोदो, फापर, रातो चामल, सिमी, सिस्नोको धुलोजस्ता बस्तुहरूबाट बनाइएका परिकारहरू निधि अर्गानिक खाजा घरमा सुपत मूल्यमा उपलब्ध गराइएको छ। यी उत्पादनलाई संकलन गरी बजारमा ल्याउन थालेपछि उपभोक्ताले स्वास्थ्यप्रद अर्गानिक खाद्य सामग्री घरमै पाएर खुशी व्यक्त गरेका छन्।
युवाहरुको यो अभियानले एकातिर ग्रामीण क्षेत्रका किसानले उत्पादनलाई उचित मूल्यमा बेच्न पाएका छन् भने अर्कोतर्फ शहरबजारमा गुणस्तरीय अर्गानिक वस्तुको माग पुरा गर्न सहयोग पुगेको छ।
स्थानीय युवा उद्यमी धामीका अनुसार, अर्गानिक उत्पादनको माग दिनप्रतिदिन बढिरहेको छ। स्वास्थ्यप्रति सचेत उपभोक्ताले बजारमा अर्गानिक वस्तु प्राथमिकता दिन थालेकाले यस व्यवसायलाई अझ व्यवस्थित र दिगो बनाउनुपर्ने आवश्यकता औंल्याइएको छ।
युवाहरुले स्वदेशमै बसेर सुरु गरेको यस्तो व्यवसायले नयाँ पुस्तालाई हौसला दिने, रोजगारी सिर्जना गर्ने र गाउँघरमा उत्पादन बढाउन प्रेरणा दिने अपेक्षा गरिएको छ। यसरी अर्गानिक व्यवसायले ‘स्वदेशमै सम्भावना छ’ भन्ने सन्देश दिएको छन ।