

काठमाडौं /उपत्यकासहित देश बिभिन्न स्थानमा आज बिहानैदेखि मेघगर्जनसहित पानी परिरहेको छ । पानी पर्ने क्रम आज र भोलि पनि जारी रहने आकंलन मौसमविदहरुले गरेका छन् ।
मौसमविद गोविन्द झाका अनुसार लगातार नभइ केहीबेर रोकिने र फेरि पानी पर्ने क्रम चलिरहनेछ । हाल देशमा पश्चिमी र स्थानीय वायुको प्रभाव रहनुको साथै बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
जसको प्रभावले देशका अधिकांश ठाउँमा हल्कादेखि मध्यम खालको वर्षा भएको छ । तर मोरङको केराबारीमा गत २४ घण्टामा २५७ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान विभागको रेकर्डमा देखिन्छ ।
लामो समयको सुक्खा र खडेरीले आहत भएकाहरुलाई यो वर्षाले केही राहत दिएको छ । तर कतै कतै असिना पानी, चट्याङ र पहिरोले भने दुःख दिएको छ । बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने पहिरो खसेर जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
आज कस्तो रहला दिनभरीको मौसम ?
आज दिउसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम आज राति पनि जारी रहनेछ ।
देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासँगै हिमपातको सम्भावना रहेको छ। यसबाट हालसम्म देशव्यापी रहिरहेको तुवाँलो क्रमिक रूपमा कम हुने देखिन्छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी पहाडी भूभागमा चट्याङ्गसहित वर्षाको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
मौसमविद झाले पर्सिदेखि मौसममा क्रमिक सुधार हुने बताए । आजको तुलनामा भोलि र भोलिको तुलनामा पर्सि कम पानी पर्ने उनको भनाइ छ