
काठमाडौ । जनपक्षीय पत्रकार,कवि तथा साहित्यकार कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मंगलवार देशभर विभिन्न कार्याक्रम गरी मनाईदै छ ।
जनपत्रकार संगठन नेपालले देशका विभिन्न ठाउँमा अन्तरक्रिया, छलफल, विचार गोष्ठी तथा पुस्तक विमोच जस्ता कार्यक्रम राखेर कृृष्ण सेन (इच्छुक)को २४ औं स्मृति दिवस मनाउन लागेको हो ।
काठमाडौमा जनपत्रकार संगठन नेपाल र अखिल नेपाल जनसांस्कृतिक महासंघको संयुक्त आयोजनमा ‘प्रगतिवादी साहित्य र समकालिन पत्रकारिता’ विषयक सम्वाद कार्यक्रमको आयोजना गरिएको छ ।
सम्वाद कार्यक्रममा वरिष्ठ कलाकार माईला लामा, डाक्टर अमर गिरी, साहित्यकार इश्वरचन्द्र ज्ञवाली, संगिता खड्का र उमीद वाग्चनले सम्वोधन गर्दै हुनुहुन्छ ।
यस्तै यता जनपत्रकार संगठन नेपाल कर्णाली प्रदेश समितिले सुर्खेतको वीरेन्द्रनगरमा पनि ‘पुस्तक विमोचन तथा चियापान कार्यक्रम’को आयोजना गरेको छ ।
संगठनले कृष्ण सेनकै वारे लेखिएका लेख तथा रचनाहरुको ताजा संगालो हालै प्रकाशित भएको ‘कृष्ण सेन (इच्छुक) स्मृति र आदर्श’ नामक पुस्तकको विमोचन पनि गर्नेछ ।
कार्यक्रममा नेकपा सुर्खेतका इन्चार्ज एटम सी, सेक्रेटरी जीत सी र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव बसन्त विक लगायतका अतिथिहरुले विचार राख्नुहुनेछ ।
‘कृष्ण सेन (इच्छुक)को स्मृतिका अवसरमा जनपत्रकार संगठन नेपाल बागमती प्रदेश समितिले चितवन, लुम्बिनी प्रदेश समितिले दाङ, सुदूरपश्चिम प्रदेश समितिले धनगढी र अन्य प्रदेश तथा जिल्लाहरूले विभिन्न ठाउँहरुमा समेत विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ ।
आजभन्दा २४ बर्ष अघि २०५९ साल जेठ ६ गते गिरफ्तार गरी जेलमै यातना दिएर जेठ १३ गते आजैको दिन महेन्द्र पुलिस क्वलवमा पत्रकार इच्छुकको हत्या गरिएको थियो ।
उहाँलाई जनताको पक्षमा कलम चलाएकै आरोपमा तत्कालिन सरकारले हत्या गरेको थियो । सोही दिनलाई जनपत्रकार संगठन नेपालले स्मृति दिवस मनाउदै आएको छ ।
